जनता टाइम्स

२१ कार्तिक २०७९, सोमबार १५:०१

कैलाली–१ मा त्रिपक्षीय प्रतिस्पर्धा : रामजनम र रञ्जितालाई विरासत जोगाउने चुनौती


धनगढी, २१ कात्तिक । कैलाली–१ मा एमाले थारु मत विभाजित हुँदा आफ्नो पक्षमा नतिजा आउने आशमा छ । यता नागरिक उन्मुक्ति पार्टी र गठबन्धनको साथ पाएको नेपाली कांग्रेस विगतको आफ्नो विरासत जोगाउन प्रयासरत छन् । थारु बाहुल्यता रहेको सो क्षेत्रमा दुईजना थारुको उम्मेदवारी परेका कारण मत विभाजन हुने र नतिजा आफ्नो पक्षमा आउने अपेक्षा एमालेका उम्मेदवार तपेन्द्र रावलको छ ।

नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठ चौधरी आफ्ना श्रीमान् रेशम चौधरीले २०७४ मा प्राप्त गरेको जित र गत वैशाखमा भएको पालिकाको निर्वाचनमा पार्टीले प्राप्त गरेको जित जोगाउनुपर्ने दबाबमा हुनुहुन्छ । कांग्रेसका उम्मेदवार रामजनम चौधरी २०४८ देखि प्राप्त गर्दै आएको जित जोगाउने दबाबमा हुनुहुन्छ ।

टीकापुर घटनालाई राजनैतिक मुद्दा बनाइनुपर्ने र पहिचानमा आधारित संघीयताको मुद्दा बोकेर करिब एक वर्षअघि रञ्जिताकै अध्यक्षतामा गठन भएको नागरिक उन्मुक्ति पार्टीले गत वैशाखमा कैलालीको टीकापुर क्षेत्रमा चार पालिकामा जित हासिल गरेको थियो । २०७४ मा भूमिगत रूपमै कैलाली १ बाट उम्मेदवार बनेका रञ्जिताका श्रीमान् रेशम चौधरी अत्याधिक मतले विजयी हुनुभएको थियो ।

तर नागरिक उन्मुक्ति पार्टीका लागि कांग्रेसका रामजनम चौधरी चुनौती बन्ने देखिनुभएको छ । थारु बाहुल्यता रहेको सो क्षेत्रमा रामजनम चौधरी समुदायसँग भिजेका नेता हो । रामजनम २०४८ को आमनिर्वाचनमा कैलाली–२ बाट २८ वर्षको उमेरमा सांसद हुनुभएको थियो । तत्कालीन अवस्थामा कैलाली जिल्लामा तीन निर्वाचन क्षेत्र थिए । त्यसपछि पनि उहाँ २०५१, २०५६ र २०७० मा प्रत्यक्ष तथा २०६४ मा समानुपातिक तर्फबाट सांसद बन्नुभयो ।

२०७० मा भने कैलाली ३ मा पराजित हुनुभएको थियो । उहाँ २०५४ मा सामान्य प्रशासन सहायक मन्त्री, २०५५ मा शिक्षा राज्यमन्त्री, २०५८ मा भूमिसुधार राज्यमन्त्री र २०७२ मा स्वास्थ्यमन्त्री हुनुभएको थियो । स्थानीय तहमा पाएको मतले पनि रामजनमलाई केही हौसला थप्न सक्दछ । कैलाली–१ मा सत्तारुढ गठबन्धन दलले वडास्तरमा २२ हजार मत पाएका छन् ।

जहाँ नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारले १७ हजार मत मात्रै प्राप्त गरेका छन् । एमालेले वडास्तरमा नौ हजार आठ सय मत प्राप्त गरेको थियो । टीकापुर नगरपालिकाको मेयर भइसकेका एमालेका उम्मेदवार रावल आफूले गरेका कामको मूल्यांकन जनताले गर्ने र पुनः मौका दिनेमा आशावादी हुनुहुन्छ ।

स्थानीय तहमा एमालेले सो क्षेत्रबाट साढे नौ हजार मत मात्रै पाएको थियो । तर दुईजना चौधरी समुदायका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदा थारु मत विभाजन हुने र पहाडी मतदाताको मत पाएर आफू चुनाव जित्ने रणनीति रावलको छ । देशैभर एमालेप्रति जनलहर रहेका कारण आफूलाई चुनाव जित्न समस्या नहुने उहाँ बताउनुहुन्छ ।