मोरङ, कात्तिक २१ । मोरङको विराटनगर महानगरपालिका वडा नम्बर ४ र ५ को सिमानामा पर्ने जामुनगाछीका बासिन्दाले बिगत एक वर्षदेखि राजनीतिक दल र नेता बहिष्कार अभियान चलाए । स्थानीयको यस अभियानका कारण जमुनगाछीमा कुनै पनि दलका नेता पुग्न सकेनन ।
दल र नेताका कारण विकास निर्माणमा पछाडि पारिएको भन्दै नेताहरुको फोटोसहितको ब्यानर टाँगेरै स्थानीयले बहिष्कार अभियान चलाएपछि कोही जाने हिम्मत गरेनन । स्थानीयको यो अभियानकै कारण आगामी प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको माहोल तातेर जाँदा पनि मोरङको निर्वाचन क्षेत्र नम्बर ६ अन्तर्गत पर्ने जामुनगाछी भने चुनावी कार्यक्रमविहीन बनेको थियो ।
चुनावको मिति नजिकिँदै जाँदा पनि स्थानीयको बहिष्कारका कारण दल तथा उम्मेदवारहरु जामुनगाछी क्षेत्रमा जान सकेका थिएनन ।राजनीतिक गतिविधि शून्य रहेको जामुनगाछीमा नेकपा एमालेले एक बर्षदेखिको अभियान तोडेको छ । एमालेले शनिबार बिहान नेता र दल बहिष्कार अभियान चलाइरहको जामुनगाछीमा कोणसभा गरेको छ । स्थानीयको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै सार्वजनिक हिसाबको चुनावी एवं राजनीतिक कार्यक्रम लिएर आफ्ना उम्मेदवारसहित एमाले जामुनगाछी प्रवेश गरेको हो ।
कोणसभामा प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डित, क्षेत्र नम्बर ६ ’क’की प्रदेशसभा उम्मेदवार रीता न्यौपाने र ६ ’ख’का पर्शुराम बस्नेत (कृष्ण) लगायत उपस्थित हुनुहुन्थ्यो । स्थानीयको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका कारण एमालेलाई चुनावी कोणसभा आयोजना गर्न दिइएको बहिष्कार अभियानका संयोजक उत्तम दाहालले बताउनु भयो ।
’राजनैतिक दल र नेताहरुकै कारण कोसी राजमार्ग पश्चिमको क्षेत्र विकास निर्माणबाट पछि पर्यो। समान विकासको माग राखेर हामीले आन्दोलन थालेका थियौं। दल र नेतालाई लक्षित गरेर बहिष्कार अभियान चलायौं,’ दाहालले भन्नुभयो, ’चुनावका बेला बहिष्कारमै परेपछि भने स्थानीयको मागलाई सम्बोधन गर्ने आश्वासन आएको छ । एमालेले विकास निर्माणलाई तीव्र गतिमा अघि बढाउने प्रतिवद्धता जनाएको छ । त्यही भएकाले कार्यक्रम गर्न दिइएको हो ।’
राजमार्ग पश्चिम क्षेत्रको विकासमा चासो नदिने दल र नेतालाई भने जामुनगाछी प्रवेश गर्न नदिइने दाहालको भनाइ छ। कोणसभापछि स्थानीयको प्रतिनिधित्व गर्दै अगुवा महिला लक्ष्मी थापाले एमालेका उम्मेदवारलाई २३ बुँदे मागपत्र बुझाउनु भएको छ । विकास निर्माण, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतसँग सम्बन्धित विषयलाई समेटेर मागपत्र बुझाइएको संयोजक दाहालले बताउनु भयो । दाहालका अनुसार एमाले उम्मेदवारले स्थानीयको माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन ।
कोणसभालाई सम्बोधन गर्दै उम्मेदवार लालबाबु पण्डितले विकासका लागि राजनीतिक स्थायित्व आवश्यक रहेको बताउनु भयो । आफूले निशंकोच स्रोत जुटाइदिएको बताउँदै पण्डितले स्थानीय तहहरुले प्रभावकारी भूमिका निर्वाह नगर्दा बजेट फ्रिज भएको गुनासो पनि राख्नुभयो ।
क्षेत्रीय विमानस्थलका रूपमा निर्माण अघि बढेको विराटनगर विमानस्थलको काम गठबन्धन सरकारले रोकेको पनि पण्डितको बताउनु भयो । पण्डितले बूढी खोला नियन्त्रण, खनार–नेता चोक मूल नहरको सडक कालोपत्रे लगायतका काम र विकासका लागि आफूलाई पुनः चुनाव जिताउन आग्रह गर्नुभयो ।
क्षेत्र नम्बर ६ ’ख’तर्फ प्रदेशसभाका उम्मेदवार पर्शुराम बस्नेत (कृष्ण)ले आफ्नो क्षेत्रमा पर्ने ६ वटै वडाका आधारभूत स्वास्थ्य केन्द्रमा दक्ष चिकित्सकको व्यवस्था गर्ने प्रतिबद्धता जनाउनु भयो । बस्नेतले जनताको साथ पाएर नै आफू उम्मेदवार बनेकाले जनताको अपेक्षा र आशामा कहिल्यै चोट पुग्न नदिने बताए। आफ्नो क्षेत्रका बारेमा आफू परिचित रहेकाले पनि जनताको काम गर्न कुनै समस्या नहुने बताउनु भयो ।
चुनावमा निर्वाचित भएपछि जामुनगाछी सडकको समस्या समाधानमा आफू केन्द्रित हुने प्रतिबद्धता पनि बस्नेतले जनाउनु भएको छ । क्षेत्र नम्बर ६ ’क’ की उम्मेदवार रीता न्यौपानेले आफूले जिते स्वरोजगारलाई नितिगत रुपमा अगाडि बढाउने बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्