झापा, कात्तिक २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन चरम धाँधलीतर्फ लागेको भन्दै आगामी निर्वाचनमा आफ्नो मतको रक्षा गर्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।
आफ्नो निर्वाचन क्षेत्र झापाको दमकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिनुभएको हो । उहाँले गठबन्धनले कानूनविपरीत जस्तो पनि गतिविधि गर्नसक्ने भएकाले सचेत रहन आग्रह गर्नुभयो ।
‘हाम्रा साथीहरुले निर्वाचन र बुथ प्रतिनिधि के–के खटाउनुपर्छ चनाखो भएर खटाउनुस हिम्मतिलो तरिकाले,’ नेता कार्यकर्तालाई निर्देशन दिँदै अध्यक्ष ओलीले भन्नुभयो, ‘यो गठबन्धन सरकारले जे पनि दुष्कर्म गर्नसक्छ । गैर कानूनी र लोकतन्त्र विरोधी कसैलाई पनि गर्न नदिने पहरेदारी पनि एमालेले गर्नुपर्छ । साथीहरु तयार रहनुस् । पार्टीले प्रशिक्षण गर्न त्यसपछि विजयीको लागि लाग्नुस ।’
अध्यक्ष ओलीले माओवादी केन्द्रका नेता–कार्यकर्तालाई प्रचण्डको पछि नलाग्न आग्रह पनि गर्नुभयो । अध्यक्ष ओली भन्नुभयो, ‘हिजो हामीले नेकपा बनाएका थियौँ । तपाईंहरु माओवादीको होइन, नेकपाको हुनुहुन्छ । प्रचण्डको पछाडि भुलले लाग्नुभयो । फर्किनुस ।’
अध्यक्ष ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एस भन्ने पार्टी नै नभएको टिप्पणी पनि गर्नुभयो । एमाले सिध्याउने खेलको अवसान मंसिर ४ गते हुने उहाँले बताउनु भयो । त्यस पार्टीमा अलमलिएर बसेको केही साथीहरुलाई एमालेमा फर्किन आग्रह गर्नुभयो । ओलीले कांग्रेससहित अरुका पछि नलाग्न आग्रह गर्नुभयो ।
उहाँले स्वतन्त्र हुँ भनेर घण्टी बजाउँदै, लौरो टेक्दै आएकाहरुको भ्रममा नपर्न समेत आग्रह गर्नुभयो । ‘कोहीलाई पत्रकारिता गर्दागर्दा राजनीति गर्न मन लाग्छ । ठीकै छ उम्मेदवार भएका छन । तर, उनलाई भोट दिर के गर्ने ? त्यस्ता मान्छे यहाँ पनि आएका होलान । मैले धेरै बुझेको पनि छैन । तिनीहरुले केही गर्न सक्दैनन । उम्मेदवार हुन पाइन्छ । तर, गर्ने के ?’ अध्यक्ष ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्