जनता टाइम्स

२४ कार्तिक २०७९, बिहीबार १२:४०

मदन भण्डारीको गाउँका सुनिश्चित छ सूर्यध्वजावहाकको जीत


एमाले कार्यकर्ता र शुभचिन्तकहरुका लागि अफसोचको कुरा, जननेता भण्डारीको कर्मथलोमा एमालेले धक फुकाएर सूर्यको विजयी झन्डा फहराउन पाएको छैन । २०४८ सालदेखि एकपटकबाहेक यहाँ निरन्तर कांगेसले जित्दै आएको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यो क्षेत्र एमालेले जितेको थियो । त्यो चुनावमा जित हात पार्ने ऋषिकेश पोख्रेल अहिले प्रतिनिधिसभा सदस्यका लागि र प्रदेशसभा सदस्यका उम्मेदवार डिबी कार्की हुनुहुन्छ 

रञ्जना अधिकारी

मोरङ, (इटहरा)  कात्तिक २४ । बहुदलीय व्यवस्थाको पुनःस्थापनापश्चात् पहिलोपटक २०४८ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेले चुनाव चिन्ह सूर्य लियो । महासचिव मदन भण्डारी सूर्यध्वजाबहाक उम्मेदवार बनेर काठमाण्डौ क्षेत्र नम्बर १ र ५ बाट चुनावी मैदानमा उत्रिए । दुवै क्षेत्रमा उनले सानदार विजय प्राप्त गरे े। नेपाली कांग्रेसको गढ मानिने क्षेत्र नम्बर १ बाट त उनले बहालवाला प्रधानमन्त्री एवं कांग्रेसका कार्यबहाक सभापति कृष्णप्रसाद भट्टराईलाईनै पराजित गरे े। त्यो जीतले महासचिव भण्डारी र एमालेको राष्ट्रिय–अन्तर्राष्ट्रिय छवी चम्किलो बन्दै गयो । भित्री कुरा, महासचिव भण्डारीकै विशेष रोजाइमा एमालेले सूर्य चिन्ह लिएको थियो ।

त्यही चुनावदेखि एमालेले आजपर्यन्त सूर्य चिन्ह प्रयोग गर्दै आएको छ । यसबीचमा राजनीतिक विकासक्रम धेरै अघि बढिसकेको छ । भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवादलाई मार्गदर्शक सिद्धान्तको रुपमा अङ्गीकार गरेपछि एमालेले धेरै पटक मुलुकको नेतृत्व गर्ने अवसर पाइसकेको छ । भण्डारीको वैचारिक र व्यावहारिक लोकप्रियताको उच्च सम्मान गर्दै एमालेले उनलाई ’जननेता’ को पदवी दिएको छ । जननेता भण्डारीकै वैचारिक जगमा एमालेले पटकपटक राजकीय सत्ता प्राप्त गरेको हो।

पूर्वी मोरङको इटहरा, सातमेडी गाउँ जननेता भण्डारीको कर्मथलो हो । तत्कालीन इटहरा गाविस वडा नम्बर ८ मा पर्ने जननेताको घर अहिले रतुवामाई नगरपालिका वडा नम्बर १० मा पर्दछ । यो नगरपालिका प्रतिनिधिसभाका लागि क्षेत्र नम्बर २ र प्रदेशासभाका लागि २ क अन्तर्गत पर्छ । यही गाउँको अन्नपानी खाएर भण्डारीले आफ्नो युवा चेतनाको विकास गरे र नेपाली कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा दिए । आजको लोकतान्त्रिक गणतन्त्र नेपालको जग जननेता भण्डारीकै वैचारिक धरातलमा निर्माण भएको हो ।

तथापि एमाले कार्यकर्ता र शुभचिन्तकहरुका लागि अफसोचको कुरा, जननेता भण्डारीको कर्मथलोमा एमालेले धक फुकाएर सूर्यको विजयी झन्डा फहराउन पाएको छैन । २०४८ सालदेखि एकपटकबाहेक यहाँ निरन्तर कांगेसले जित्दै आएको छ । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा यो क्षेत्र एमालेले जितेको थियो । त्यो चुनावमा जित हात पार्ने ऋषिकेश पोख्रेल अहिले प्रतिनिधिसभा सदस्यका लागि र प्रदेशसभा सदस्यका उम्मेदवार डिबी कार्की हुनुहुन्छ ।

एमाले मोरङ अध्यक्ष पोख्रेलको यो प्रतिस्पर्धा तेस्रो हो । २०७० का विजयी पोख्रेल २०७४ मा भने कांग्रेसका डा. मिनेन्द्र रिजालसँग झिनो मतले पराजित भए । १ नम्बर प्रदेश कमिटी सदस्य कार्की भने पहिलो चोटी चुनावी प्रतिष्पर्धा गर्दै छन् । यो गौरवशाली भूमिबाट सूर्यध्वजाबहाक उम्मेदवार बनेर जनतासमक्ष जान पाउनु व्यक्तिगतरुपमा पोख्रेल र कार्कीकालाई सौभाग्यको कुरा पनि हो । यस्ता ऐतिहासिक स्थलबाट चुनाव लड्न पाउने अवसर एमालेजनलाई अन्त बिरलै होला ।

मदन भण्डारीको गाउँका रुपमा चिनिने यो ठाउँ अहिले राष्ट्रपति विद्द्यादेवी भण्डारीको गाउँ भनेर पनि चिनिन्छ । पहिलो महिला राष्ट्रपतिको गाउँको उपमा पाउनु यहाँको विशिष्ट गौरव हो ।

कमैलाई थाहा होला, एमालेको जन्मस्थल पनि यहीं हो । यो स्थान राष्ट्रपति भण्डारीको घरबाट करिब ५ किलोमिटर पश्चिम बक्राहा नदी किनारमा रहेको डिपु गाउँमा पर्छ । टेकबहादुर राईको घरमा २०३५ साल पुस ११ गते तकालीन नेकपा मालेको स्थापना भएको हो । यही पार्टी २०४७ सालमा नेकपा (एमाले) बनेको हो । यसरी पार्टी स्थापनाको इतिहासको रेकर्ड पनि यही गाउँसँग छ ।

नेपाली कम्युनिष्ट आन्दोलन र मुलुकको रुपान्तरणमा महत्व राख्ने यस्ता ऐतिहासिक व्यक्तित्व र स्थलहरुलाई जीवन्त राख्न र तिनको महत्व पुस्तान्तरण गर्दै लान यहाँ अहिलेसम्म खासै काम भएको छैन । यी इतिहास र गौरबहरुको संरक्षण, विकास र पुस्तान्तरणका लागि एउटा बृहत्तर योजनाको आवश्यक छ । यसका लागि एमालेको जित जरुरी छ ।

अहिले यहाँ मुख्य प्रतिस्पर्धा सत्तारुढ गठबन्धन र एमाले बीचमा छ । पोख्रेलको भिडन्त गिरिजाप्रसाद कोइराला पुत्री एवम कांग्रेस नेतृ सुजाता कोइरालासँग हुँदैछ भने कार्कीको प्रतिष्पर्धा नेकपा माओवादी केन्द्रका गणेश उप्रेतीसँग छ । चुनावी प्रतिस्पर्धामा चुनौती जहाँसुकै हुन्छ नै, यहाँ पनि छ । तर पोख्रेल र कार्कीलाई प्रतिस्पर्धामा चुनौतीभन्दा अवसर ज्यादा छ यहाँ । जित्न सके काम गरेर देखाउने ऐतिहासिक विरासतको फराकिलो धरातल छ । जनतासँग भोट माग्ने अधार पनि उहाँहरुलाई प्रर्याप्त छ ।

२०४८ देखियता यो क्षेत्रबाट कांग्रेसले २८ वर्ष प्रतिनिधित्व गरेको छ, एमालेले मात्र ३ वर्ष । यो अवधिमा कांग्रेसले स्थानीय समाजको एउटा पनि उम्मेदवार उभ्याउन सकेको छैन, बाहिरबाटै आयात गरेर काम चलाएको छ । यति लामो समयमा कांग्रेसले खासै उल्लेख्य काम केहि गर्न सकेको छैन । विकास निर्माण र सेवा प्रवाहमा कांग्रेस नराम्ररी चुकेको छ ।

पार्टी निर्माणको इतिहास, जननेता भण्डारीको विरासत, एमाले सरकारले गरेका स्वाभिमानी, राष्ट्रवादी र जनहितकारी कार्यको फिरिस्ती जनतासमक्ष सबैले बुझ्ने भाषामा प्रस्तुत गर्न सके पोख्रेल र कार्कीलाई विजयको सूर्य झण्डा फहराउन गाह्रो पर्दैन । यसका लागि पार्टी कार्यकर्ताको इमान्दार प्रयत्न र प्रतिवद्धता भने जरुरी हुन्छ नै । त्यसतर्फ स्थनीय पार्टी नेतृत्व र स्वयम् उम्मेदवारले मसिनो गरी ख्याल राख्नु आवश्यक छ । यसपटक जननेता भण्डारीको गाउँका सूर्यध्वजावहाक उम्मेदवार पोख्रेल र कार्कीलाई इतिहास रक्षा गर्ने र नयाँ इतिहास बनाउने ठुलो अवसर छ ।