जनता टाइम्स

२५ कार्तिक २०७९, शुक्रबार १५:३०

कञ्चनपुर–३ मा बलियो बन्दै निरु पाल, स्वतन्त्र र वागीको चुपुवामा रमेश लेखक


कञ्चनपुर, कात्तिक २५ । नेपाली कांग्रेसका नेता रमेश लेखक र एमाले नेतृ निरु पाल उम्मेदवार रहेको कञ्चनपुर क्षेत्र नम्बर ३ को प्रतिस्पर्धा निकै रोचक बनेको छ । निर्वाचनको मिति नजिकिँदै जाँदा गठबन्धनका उम्मेदवार लेखकमाथि बागी उम्मेदवार भारी पर्ने देखिएसँगै एमाले नेते निरु पाललाई सहज हुने देखिएको छ । मा हुने भएको छ ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर ३ मा पाल र लेखकसँगै १३ जना उम्मेदवार चुनावी मैदानमा हुनुहुनछ ।
यो क्षेत्रमा जनमत पार्टीबाट सुशीलादेवी विष्ट, नेमकिपाबाट जानकीदेवी गिरी, हाम्रो नेपाली पार्टीबाट दुर्गादत्त पाण्डे, लोसपाबाट अम्बादत्त तिवारी, मौलिक जरोकिलो पार्टीबाट तिलकप्रसाद जोशी र राष्ट्रिय स्वतन्त्र पार्टीबाट कृष्ण लुहार मैदानमा हुनुहुन्छ ।

यस्तै नेपाली कांग्रेसबाट बागी उम्मेदवार बन्नुभएका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि दिपकबहादुर सिंह र नेतृ शारदादेवी चन्दसहित मदन दमाई र शुभाषसिंह धामी समेत स्वतन्त्र उम्मेदवार हुनुहुन्छ ।

स्वतन्त्रमध्ये बझांगी समुदायको भोट सिंहले पाउने धेरैको विश्लेषण छ । कांग्रेस नेता एनपी साउदको निकट स्वतन्त्र उम्मेदवार सिंहले चुनाव नजितेपनि लेखकको भोट धेरै काट्ने कांग्रेसकै नेताहरु बताउछन । यो क्षेत्रमा मुख्य प्रतिस्पर्धा एमाले पोलिटब्यूरो सदस्य पाल र कांग्रेस केन्द्रीय सदस्य लेखकबीच नै हुने देखिन्छ । लेखकलाई माओवादी केन्द्र, जनमोर्चा र एकिकृत समाजवादीको समर्थन छ भने पाललाई राप्रपाले सहयोग गरेको छ । दुबैबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

कञ्चनपुर क्षेत्र नम्बर ३ मा पाल र लेखक दुवैले आफुले पदमा हुंदा गरेको विकास निर्माणको कामलाई मुख्य एजेण्डा बनाउनु भएको छ ।
राष्ट्रिय युवा संघको केन्द्रीय अध्यक्ष, संसदको समितिको सभापति र प्रधानमन्त्रीको जनसम्र्पक सल्लाहकार समेत भइसक्नु भएकी नेतृ पालले सुख्खा बन्दरगाहा, मझगाउँ विमानस्थल, महाकाली करिडोर निर्माण र महाकाली अस्पतालको स्तरोन्नति आफूले गरेको विषयलाई अघि सार्नुभएको छ ।

यो क्षेत्रमा प्रदेशमा एमालेबाट भिमदत्तका पूर्व मेयर सुरेन्द्र विष्ट र अर्को क्षेत्रमा राप्रपाका नेता धर्मराज जोशी चुनावी मैदानमा हुनुहुनछ । दुवै उम्मेदवार जनमत भएका नेता हुन् । उहाँहरुको साथ पाउनु भएकी पालले यसपटक जित्ने सक्ने आधार बलियो देखिएको छ ।

लेखकलाई कांग्रेसकै सिंह र चन्द बागि उठेपछि चुनौति थपिएको छ । यो क्षेत्रमा राप्रपासंग ५ हजारभन्दा बढी भोट रहेको देखिन्छ । कांग्रेसभित्र छोटो समयमा लाभको पद पाउनेमा लेखकको स्थान माथि छ । उहाँले मात्र लगातार टिकट पाएपछि कांग्रेसभित्रै असन्तुष्टि छ । प्रदेश क मा पनि माओवादी केन्द्रबाट टिकेन्द्र भट्ट र एकीकृत समाजवादीका प्रकाश रावल चुनावी मैदानमा मित्रवत प्रतिस्पर्धामा हुनुहुन्छ । यस्तै ख मा कांग्रेसका बेलबहादुर राना उम्मेदवार हुनुहुन्छ ।

यो क्षेत्रमा गठबन्धनको मत २१ हजार ६७८ मत छ भने एमाले र राप्रपाको १४ हजार २९४ मत छ । मतका हिसावले ८ हजारले अघि भएपनि धेरै स्वतन्त्र उम्मेदवारहरु मैदानमा उत्रिएको र क्षेत्रीयता र जातियताले समेत यो क्षेत्रमा प्रभाव पार्ने भएकाले यो मतको खासै अर्थ नराख्ने विश्लेषण भइरहेको छ ।

दुई वटा नगरपालिका र अर्को नगरपालिकाको एक वडा रहेको यो क्षेत्रमा भिमदत्त नगरपालिका कांग्रेसले जितेको छ भने दोधारा चांदनी एमालेले जितेको छ । वेतकोट नगरपालिकाको ८ नम्बर वडा भने एकिकृत समाजवादीले जितेको छ । यो वडामा तिनै पार्टीबीच कडा प्रतिस्पर्धा छ ।

स्थानीय तहको निर्वाचनमा स्वतन्त्रले राम्रो मत पाएको यो क्षेत्रमा स्वतन्त्र र बागी उम्मेदवारले कति भोट पाउंछन् त्यसमा पाल र लेखकको जित जोडिएको छ ।

कञ्चनपुरको क्षेत्र नम्बर ३ मा एमालेभन्दा गठबन्धनभित्र चर्को असन्तुष्टि छ । एमालेबाट टिकटका दावेदार रहेका दीपकप्रकाश भट्ट चुनावी मैदानमा खटिनु भएको छ । तर, कांग्रेसभित्र भने लेखक र अर्का नेता एनपी साउद समुहको झगडा सहतमा देखिएको छ । पार्टीभित्रै चर्काे असन्तुष्टि रहेको कारण लेखक यसपटक पनि सांसद बन्न नपाउने अवस्था बन्दै गएको कांग्रेसकै नेताहरुको बिश्लेषण रहेको छ ।