जनता टाइम्स

२० श्रावण २०७६, सोमबार २०:१७

एनआरएनए युरोप बैठकको निश्कर्ष : पोल्याण्ड–पोर्चुगल र माल्टामा नेपाली दुतावास स्थापना हुनुपर्छ


इटली, साउन २० । गैर आवासीय नेपाली संघ (एनआरएनए) ले युरोपियन मुलुक पोल्याण्ड, पोर्चुगल माल्टामा नेपाली राजदुतावास स्थापना गर्न सरकारसँग माग गरेको छ । इटलीको रोममा आज सम्पन्न एनआरएनए युरोपको क्षेत्रीय बैठकले सो माग गरेको हो ।

बैठकले तत्कालका लागि कुटनीतिक मिसन सुरु नहुँदा ती मुलुकहरुमा सहज रनजिक हुने कुटनीतिक नियोगमा हस्तान्तरण गराउनसमेत माग गरेको छ । यसैगरी बैठकमा नेपालमा लगानी तथा पर्यटन प्रवर्धनको बिषयमा व्यापक छलफल भएको छ । कानूनमन्त्री भानुभक्त ढकालले उदघाटन गर्नुभएको बैठकले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि बढाएको ‘समृद्ध नेपाल : सुखी नेपाली’ को लक्ष्इलाई सार्थक बनाउन आवश्यक सवै कदम चाल्ने निश्कर्ष निकालेको छ ।

बैठकमा नेपालको बैठकमा खासगरी गैर आवासीय नेपाली नागरिकता तथा एनआरएनहरुको नेपालमा रहेको सम्पत्तिबारे पनि छलफल भएको थियो । उदघाटनको क्रममा कानूनमन्त्री ढकालले गैर आवासीय नेपालीहरुको सम्पत्ति सुरक्षित रहने विश्वास दिलाउनु भएको थियो । मन्त्री ढकालले सो प्रतिवद्धता जनाएपछि कानून नबन्दासम्म हामी सबैको प्रयास जारी रहनु पर्नेमा जोड दिइएको छ ।

‘बैठक अत्यन्तै फलदायी रह्यो, नेपाल सरकारको समृद्धि अभियानलाई सार्थक बनाउन आवश्यक कानूनी सुधारमा जोड दिइएको छ,’ बैठकपछि एनआरएनएका अध्यक्ष भवन भट्टले भन्नुभयो ।

बैठकमा नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहित नेपाली कुटनीतिक नियोगका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।  बैठकले १७ बुँदे घोषणापत्र जारी गरेको छ । जसमा एनआरएनएको समग्र पाटोलाई समेटिएको छ ।