जनता टाइम्स

२५ कार्तिक २०७९, शुक्रबार १६:४८

भोजपुरी अभिनेत्री अक्षरा प्रहरीको फरार सूचीमा


मुम्बई, २५ कात्तिक । भोजपुरी अभिनेत्री अक्षरा सिंह प्रहरीको ‘फरार’ सूचीमा परेकी छन् । प्रहरीले उनको पटनास्थित घर बाहिर ‘फरार’ पोस्टर टाँसेको छ । यो मामिला सन् २०२१ को हो । सन् २०२१ अप्रिलमा अक्षरा बाहुबली मुन्ना शुक्लाको डान्स पार्टीमा सहभागी थिइन् । डान्स पार्टीमा कैयौं नियम उल्लंघन भएपछि त्यहाँ फायरिङसमेत भएको थियो ।

उक्त डान्स पार्टीविरुद्ध दर्ता भएको एफआईआरमा अक्षरालाई पनि अभियुक्तका रूपमा प्रस्तुत गरिएको थियो । एफआईआर दर्ता भएपछि अक्षरा फरार थिइन् । उनलाई दुई महिनाअघि मात्र यो मामलामा अदालतबाट गैर जमानती वारेन्ट जारी गरिएको थियो । जसकारण उनी फरार रहेको पोस्टर प्रहरीले प्रकाशन गरेको हो ।

लालगन्ज थानाका प्रहरीले अक्षराको घरमा फरार पोस्टर टाँसेका छन् । जौनपुरको बदलापुरमा भएको दुई दिवसीय बदलापुर महोत्सवमा पनि अक्षरामाथि ढुंगा प्रहार भएको थियो । अक्षराका वकिल अमरेन्द्र कुमारले भने आफूलाई यस विषयमा कुनै सूचना नआएको बताउनुभयो ।

उहाँले घरमा पोस्टर टाँसिएको जानकारी आफूले सामाजिक सञ्जालमार्फत थाहा पाएको दाबी गर्नुभएको छ । ‘अक्षरा सिंह भारतको संविधान र कानूनप्रति आस्थावान छिन् । यही कारण उनले यो मामलाको सन्दर्भमा एन्टी सिपेटरी बेलका लागि आवेदन दिएकी छन् । उनको यो आवेदनमा नोभेम्बर १७ मा सुनुवाई हुनेछ’, उहाँले भन्नुभएको छ ।