जनता टाइम्स

२१ श्रावण २०७६, मंगलवार ११:०६

डेंगुका बिरामीले भरियो धरानको बीपी प्रतिष्ठान


धरान, साउन २१ । पूर्वकै ठूलो स्वास्थ्य संस्था बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आकस्मिक कक्षमा बिरामीको चापले गर्दा उपचारमा समस्या भएको छ । आकस्मिक कक्षमा बेड अभावको कारण बिरामीलाई मात्रै समस्या नभई चिकित्सकलाई समेत उपचार गर्न समस्या भएको हो ।

आकस्मिक कक्षाको काउण्टरको रेकर्ड अनुसार, दैनिक प्रतिष्ठानमा १८ सयदेखि २ हजारसम्म बिरामी उपचारका लागि आउने गर्दछन् । तीमध्ये २४ घण्टाको रेर्कड अनुसार ४ सय ७४ जना बिरामी आकस्मिक कक्षमा उपचारका लागि भर्ना भएका छन् । प्रतिष्ठानको आकस्मिक कक्षाको बेड क्षमता हाल २५ वटा मात्रै छ । तर सयौ बिरामी आकस्मिक कक्षमा उपचारका लागि बिरामी आउने भएकोले अहिले बिरामीलाई हेर्न समेत समस्या भएको आकस्मिक कक्षका चिकित्सकहरुले बताएका छन । आकस्मिक कक्षका प्रमुख डा ज्ञानेन्द्र मल्लका अनुसार, प्रतिष्ठान पूर्वकै ठूलो रेफरल अस्पताल भएकोले आकस्मिक कक्षको बेड क्षमता बढाउनुपर्छ । तर यो काममा ढिलो भएकोले पनि हरेक वर्ष यस्तो समस्याबाट पीडित हुनुपर्ने अवस्था आएको छ ।

प्रतिष्ठानमा विगतका बर्षहरुको तुलनामा यो समय अत्याधिक बिरामी आकस्मिक कक्षमा आएको प्रतिष्ठानको आकस्मिक कक्षले जनाएको छ । यसपटक यसरी विरामीको अत्याधिक चाप बढ्नुको मुख्य कारण धरानमा देखिएको डेंगु हो । आकस्मिक कक्षमा कार्यरत एकजना चिकित्सकले भने यहाँ जति पनि बिरामी आएका छन्, यसमध्ये ८० प्रतिशत डेंगुकै बिरामी छन् । कत्ति बिरामी त बहिरंग ओपिडीबाटै फर्किने गरेका छन् । अलि बढी गम्भीर भएका बिरामी मात्रै आकस्मिक कक्षमा भर्ना हुने गरेको बताइएको छ ।

बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको बेड क्षमता ७ सय ८० हो । यहाँ वार्डमा बेड अभावले गर्दा पनि आकस्मिक कक्षमा बिरामीको चाप बढेको हो ।