जनता टाइम्स

२९ कार्तिक २०७९, मंगलवार १५:२६

संसद विघटन गर्नु प्रतिगमन भए पहिलो प्रतिगमनकारी गिरिजा कोइराला होइनन् ?


यसिमा महत/ काठमाडौं । मंसिर ४ नजिकिदैं छ । त्यसैले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको प्रचारप्रसार पनि चरम अवस्थामा पुगेको छ । देशकै सबैभन्दा ठूलो र बलियो पार्टी नेकपा (एमाले) लाई पराजित गर्न अन्य दलले गठबन्धन बनाएका छन् । त्यसैले मुख्य प्रतिस्पर्धा सत्ता गठबन्धन र एमालेसँग भइरहेको छ । सत्ता गठबन्धनले एमालेविरुद्ध कुनै अस्त्र नपाएर एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको संसद विघटनलाई ‘प्रतिगमन’ भनिरहेका छन् र अध्यक्ष ओलीलाई प्रतिगमनकारी ।

संसदीय व्यवस्थामा संसद विघटन गरेर निर्वाचनको मिति सिफारिस गर्नु प्रधानमन्त्रीको विशेषाधिकार मानिन्छ । तत्कालिन प्रधानमन्त्री ओलीले संसद विघटन गरेर ‘राज्य विप्लव’ गरेको शैलीमा प्रचार गरिदैछ । संसद विघटन आमचुनावको घोषणा गर्नु प्रतिगमन भए नेपालमा यसको सुरुवातकर्ता गिरिजाप्रसाद कोइराला हुनुहुन्छ । अनि उहाँलाई पहिलो ‘प्रतिगमनकारी भन्ने ?

नेपाली काँग्रेसको झण्डै दुईतिहाइको एकल बहुमतको सरकारका प्रधानमन्त्री कोइरालाले २०५१ मा पहिलो पटक संसद विघटन गरेर निर्वाचनको घोषणा गर्नुभएको हो । त्यसपछि २०५२ सालमा मनमोहन अधिकारीले प्रधानमन्त्रीको रूपमा संसद विघटन गरेर निर्वाचनको घोषणा गर्नुभएको थियो, जुन अदालतले उल्टाइदियो । संसद विघटनको तेश्रो श्रृंखला पनि काँग्रेससम्मिलित सूर्यबहादुर थापा नेतृत्वको सरकारको पालामा २०५४ सालमा भयो ।

चौथा पटक २०५५ सालमा गिरिजाप्रसाद कोइरालाले नै संसद विघटन गर्नुभयो र अन्त्यमा २०५९ सालमा अहिलेकै प्रधानमन्त्री शेरबहादुर देउवाले संसद विघटन गरेर २०४६ सालको आन्दोलनबाट प्राप्त उपलब्धि राजाको पाउमा लगेर चढाउनु भयो । अनि भनिदैंछ केपी ओली प्रतिगमनकारी ! प्रतिगमनको खतरा कायम (केपी ओलीले नेतृत्व गरेको एमालेले जित्ने खतरा) रहेको र एक्लाएक्लै त्यो शक्तिलाई रोक्न असम्भव जस्तै भएकाले गठबन्धन गर्नुपरेको तर्क गरिदैंछ ।

नीति, विचार, कार्यक्रममा पछाडि परेपछिको निम्छरो आरोप हो ‘प्रतिगमन ।’ प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन हो भने सबैभन्दा पहिले गिरिजाप्रसाद कोइरालालाई प्रतिगमनकारी भन्नु पर्ने हुन्छ । पछिल्लो अवस्थाका सबैभन्दा ठूला प्रतिगमनकारी त शेरबहादुर होइनन् ? नेमकिपाका नेता नारायणमान विजुच्छेकाअनुसार संसदीय व्यवस्थामा प्रधानमन्त्रीको हातमा एउटा गोली लोड गरेको बन्दुक हुन्छ, त्यो बन्दुक भनेको संसद विघटन ।

प्रधानमन्त्रीलाई आफूले देश र जनताको पक्षमा राम्रो काम गरिरहेका विभिन्न कारणले अवरोध गरियो भने प्रधानमन्त्रीले आफूसंग भएको त्यो संसद विघटनको बन्दुक पड्काउन सक्छन् । लोकतन्त्रमा सार्वभौम जनता हुन् भनेर मान्ने हो भने जनतामा परिक्षण हुन जाने कुरालाई कसरी प्रतिगमन भन्न मिल्छ ?