काठमाडौं, २९ कात्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मंसिर ४ पछि एमालेको नेतृत्वमा जनताको सरकार बन्ने बताउनुभएको छ । आज दाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले अहिलेको गठबन्धन सरकारले देश र जनताको वेवास्ता गरेको बताउनुभयो । अहिलेको गठबन्धन सरकार विकास विरोधी रहेको भएको भन्दै उहाँले मंसिर ४ गते गठबन्धन सरकारलाई बिदाइ गर्ने बताउनुभयो ।
मंसिर ४ मा जनताको काम गर्ने पार्टीलाई जिताउनुपर्ने महासचिव पोखरेलले बताउनुभयो । उहाँले भन्नुभयो,‘यस्तो सरकार राखेर जनताको भाग्य र भविष्य बन्न सक्छ ? बन्दैन, त्यसकारण मंसिर ४ गतेका दिन गठबन्धलाई बिदाइ गर्ने हो, नेकपा एमालेको नेतृत्वमा जनताको सरकार बनाउने संकल्प तपाइँ हामीले गर्नुपर्नेछ ।’ गठबन्धन सरकार बनेपछि विकासका काम ठप्प भएका र गठबन्धन सरकारले एमालेले ल्याएका विकासका योजना काटेको बताउनुभयो ।
गठबन्धन सरकारका कारण देशको अर्थतन्त्र अस्तव्यस्त भएको पनि महासचिव पोखरेलले बताउनुभयो । जनताको काम गर्ने, जनताको समस्या समाधान गर्ने र विकास गर्ने पार्टी एमाले मात्रै रहेको भन्दै उहाँले विकासका काम गर्नेलाई भोट दिन सबैलाई आग्रह गर्नुभयो । महासचिव पोखरेलले आफू लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा विकास र निर्माणका कामलाई तिब्रता दिएको बताउनुभयो ।
उहाँले थप्नुभयो,‘दाङमा हामीले विकासको खाका कोरेका छौं, धेरै काम अघि बढाएका छौं, मैले मुख्यमन्त्री हुँदा धेरै काम गरेको छु,तपाइँहरुले यति बुझ्नुपर्छ, दाङको विकास गर्नेले भोट पाउँछ, बजेट काट्नेलाई भोट दिनुहुँदैन ।’ केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा ३ वर्षको अवधिमा एेतिहासिक काम भएका महासचिव पोखरेलले बताउनुभयो ।
उहाँले भन्नुभयो,‘भेरीको पानीलाई बबईमा खसाल्न, सुनकोशीको पानी वाग्मतीमा खसाउने योजना अगाडि बढेको छ, यसले के देखिन्छ भने एउटा देशभक्त र जनताका पक्षको सरकार भयो भने असम्भव भनिएको कुरालाई पनि सम्भव बनाउने सामर्थ्य राख्ने रहेछ ।’ केपी ओली नेतृत्वको सरकारले १८ घण्टे लोडसेडिङ हटाएर र देशलाई बिजुली निकासी गर्ने आधार बनाएको उहाँले बताउनुभयो ।
दिउँसोको समयमा मात्र जहाज उड्ने अवस्था अन्त्य गरी रातिको समयमा पनि जहाज उडाउने पूर्वाधार बनाउने काम एमालेले गरेको महासचिव पोखरेलले स्मरण गराउनुभयो । पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ ढुवानी गर्न र रेल चढ्ने सपना पूरा गराउन एमाले सफल भएको उहाँले बताउनुभयो । खानीहरुको अनुसन्धान लगायत काम पनि एमालेले नै अगाडि बढाएको महासचिव पोखरेलले बताउनुभयो ।
एमाले हुने हो भने देश छोटो समयमा बन्छ भन्ने कुराको सन्देश आफूहरुले दिएको उहाँले प्रष्ट पार्नुभयो । आफू नेतृत्वको प्रदेश सरकारले प्रदेशको राजधानी दाङ तोक्ने निर्णय गरेको महासचिव पोखरेलले स्मरण गराउनुभयो । अहिलेको सरकार जनताले नभएर अदालतले बनाएको परमादेशी सरकार भएको बताउनुभयो ।
मंसिर ४ मा परमादेशी सरकारलाई हटाएर एमालेको नेतृत्वमा बहुमतको सरकार बनाइने बताउँदै महासचिव पोखरेले भन्नुभयो,‘अदालतले बनाएको परमादेशी सरकारलाई बिदाइ गर्नेछौं र एमालेको नेतृत्वमा जनताको सरकार बनाउनेछौं ।’
गठबन्धनवालाहरुले वृदभत्ता नबढाएको उहाँले बताउनुभयो । वृद्धवृद्धालाई माया गर्ने पार्टी एमाले मात्रै रहेको महासचिव पोखरेलले बताउनुभयो । विकासको नेतृत्व गर्ने र नाकाबन्दी अन्त्य गर्ने काम पनि एमालेले गरेको उहाँले बताउनुभयो । एमालेको सरकार हुँदा किसानलाई मल, सिंचाईको व्यवस्था गरेको गठबन्धनले वेवास्ता गरेको उहाँले बताउनुभयो ।
यसबाट गठबन्धन जनताको सरकार होइन भन्ने पुष्टि भएको महासचिव पोखरेलको भनाइ छ । एमालेले चुनाव जिते सुरक्षित महिनावारीको लागि वार्षिक १५०० दिने, हरेक परिवारलाई १० हजार लिटर पानी निस्शुल्क दिने,सबैलाई बिजुलीको पहुँचमा पुर्याउने घोषणा पनि उहाँले गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्