जनता टाइम्स

२९ कार्तिक २०७९, मंगलवार १७:२५

एमालेले सुरु गरेको बाँकी काम पूरा गर्न मेरो उम्मेदवारी हो : कैलाश ढुङ्गेल


रामेछाप, २९ कात्तिक । नेकपा एमाले केन्द्रीय सदस्य एवं रामेछापबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार कैलाशप्रसाद ढुङ्गेलले एमाले सरकारले सुरु गरेको विकास बजेट गठबन्धन सरकारले काटेर विकास योजना अलपत्र पारेको बताउनुभएको छ । नेकपा एमाले निर्वाचन परिचालन कमिटी रामेछापले आज खाँडादेवी गाउँपालिकाको गोगनपानीमा आयोजना गरेको चुनावी सभामा बोल्दै ढुङ्गेलले एमालेले सुरु गरेको विकासका काम पुनः अघि बढाउन एमालेकै सरकार आउनुपर्ने बताउनुभयो ।

त्यसको लागि मङ्सिर ४ को निर्वाचनमा एमाले उम्मेदवारलाई विजयी गराई केपी ओली नेतृत्वको सरकार बनाउन आवश्यक रहेको उहाँले बताउनुभयो । ‘एमाले सरकारले सुरु गरेको बाँकी काम पूरा गर्न मेरो उम्मेदवारी’, ढुङ्गेलले भन्नुभयो । गठबन्धन सरकारले विकास बजेट मन्त्रीलाई पाल्न खर्च गरेको बताउनुभयो । हरेक सामानमा मूल्य बढाएर गठबन्धनले नेपाली जनताको ढाड सेकेको उहाँले टिप्पणी गर्नुभयो ।

नेकपा एमालेको सरकार बनेपछि नागरिकलाई राहत दिने र सामाजिक सुरक्षा बढाउने कार्यक्रम ल्याउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । ढुङ्गेलले एमाले सरकार बनेको पहिलो वर्ष सामाजिक सुरक्षा भत्ता ५ हजार पुर्याउने र ५ वर्षमा १० हजार भत्ता पुर्याउने बचन दिनुभयो । उहाँले गठबन्धनको नाम नलिन मतदातालाई आह्वान गर्नुभयो ।

सत्ता गठबन्धन नेताहरूको बिचमा रहेको र एमालेको गठबन्धन गाउँका बाआमा, दाजुभाइ, दिदीबहिनीसँग रहेको बताउनुभयो । मङ्सिर ४ को निर्वाचन कुनै व्यक्तिले जित्ने विषय नभई देश र जनताले जित्ने वा हार्ने विषय भएको ढुङ्गेलले बताउनुभयो । त्यसैले व्यक्तिलाई हेरेर होइन पार्टीलाई हेरेर भोट हाल्न उहाँले अनुरोध गर्नुभयो । ढुङ्गेलले गठबन्धनका कुनै पनि नेता आफ्नो खुट्टामा नउभिएका बताउनुभयो ।

शेरबहादुर प्रचण्ड र माधव नेपालको खुट्टा टेकेर केपी ओलीसँग मिलेर चुनावी मैदानमा आउनुभएको उहाँले बताउनुभयो । केपी ओलीले हानेको एक बलले शेरबहादुरका कृत्रिम खुट्टा खुस्किने उहाँले दाबी गर्नुभयो । मंसिर ४ गते गठबन्धनलाई अन्तिम धक्का दिनुपर्ने उहाँले बताउनुभयो । उहाँले माओवादी कार्यकर्तालाई आफ्नो झण्डा समातेर रुखमा भोट हाल्ने वा सूर्यमा भोट हाल्ने एक पटक सोच्न आग्रह गर्नुभयो ।

मङ्सिर ४ पछि गठबन्धन नरहने बताउँदै उहाँले भोलि माओवादी एमालेमा नै आउने भएको प्रष्ट पार्नुभयो । त्यसैले आफ्नो ब्रह्मलाई सोधेर रुखमा वा सूर्यमा, केमा भोट हाल्ने सोचेर भोट हाल्न उहाँले आह्वान गर्नुभयो । नेपाली कांग्रेसका कार्यकर्तालाई पनि आफ्नै झण्डा समातेर माओवादीलाई वा एमालेलाई भोट हाल्ने निर्णय गर्न अनुरोध गर्नुभयो । उहाँले भोट हाल्ने बेला आफ्नो विवेक प्रयोग गर्न पनि आग्रह गर्नुभयो ।