जनता टाइम्स

३० कार्तिक २०७९, बुधबार १६:१३

नेपाल भित्र्याइदै गरेको १५ हजार मतपत्र बरामदले वीरगञ्जमा सनसनी


वीरगञ्ज, ३० कात्तिक । नेपाल भित्र्याउदैं गरेको ठूलो मात्रामा मतपत्र पर्सा प्रहरीले बरामद गरेपछि सनसनी मच्चिएको छ । ती मतपत्र के प्रयोजनको लागि कसले मगाएको भन्ने वारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सिमावर्ती गाउँ जानकीटोला नाकाबाट मोटरसाइकलमा भित्र्याउन लागेको नक्कली मतपत्रसहित भारतीय नागरिक पक्राउ परेका हुन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य नरकटिया ग्राम पन्चायत १४ का अन्दाजी ४० वर्षिय इजाजत अहमद रहेका छन् ।

बीआर २२ डब्लु ८००२ भारतीय नम्बर प्लेटको मोटरसाइकलमा नमूना मतपत्र बोकेर आउने क्रममा अहमदलाई नियन्त्रणमा लिएको पर्साका प्रहरी प्रवक्ता डिएसपी दिपक गिरीले जानकारी दिनुभयो । उनका अनुसार अहमदको साथबाट १५ हजार थान मतपत्र बरामद भएको छ ‌।

भारतमा छापिएको नमूना मतपत्र नेपाल भित्र्याउनु गैरकानूनी रहेकाले मतपत्रसहित अहमदलाई पक्राउ गरेको डिएसपी गिरीले बताउनुभयो ।