जनता टाइम्स

३० कार्तिक २०७९, बुधबार १८:४१

देशको स्वाभिमान रक्षाका लागि पनि केपी ओली प्रधानमन्त्री हुनुपर्छ : कमल चौलागाईं


रामेछाप, ३० कात्तिक । नेकपा एमाले पोलिटब्युरो सदस्य कमल चौलागाईंले जनताबाट विस्थापित हुनेले आतंक मच्चाउने बताउनुभएको छ । नेकपा एमाले मन्थली नगरपालिका–१० चनखुले बुधबार आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै नेता चौलागाई‍ंले माओवादी अझै पनि आतंकको बाटो छाड्न नसकेको बताउनुभयो । अहिले पनि माओवादी आतंक मच्चाएरै जनतालाई तर्साउने योजना रहेको उहाँले प्रष्ट पार्नुभयो । अब जनता त्यसरी तर्सने अवस्थामा नरहेका उहाँले बताउनुभयो ।

नेकपा एमालेले जनताका २० वटा सवालको ग्यारेन्टी
गर्ने प्रतिबद्धतापत्र ल्याएको चौलागाईंले बताउनुभयो । त्यसको लागि एमालेको एमालेको बहुमतको सरकार आवश्यक रहेको उहाँले बताउनुभयो । एमालेले केपी ओली प्रधानमन्त्री बनाउँछौँ र एक्लै सरकार बनाउँछौँ भनेर जनताको बिचमा आएको उहाँले प्रष्ट पार्नुभयो ।

वर्तमान गठबन्धन सरकार विदेशीले बनाइदिएको उहाँले दाबी गर्नुभयो । ‘विदेशीसँग नझुक्ने सरकार बनाउन केपी ओली नै प्रधानमन्त्री हुनुपर्छ’, चौलागाईंले भन्नुभयो ।

चौलागाईंले अमेरिकी र इण्डियन दलाललाई हराउनको लागि पनि गठबन्धनलाई हराउनु पर्ने बताउनुभयो । प्रतिक्रियावादी विरुद्धको लडाईंमा अहिले एमाले एक्लै लडिरहेको उहाँले बताउनुभयो । त्यो लडाइँमा मङ्सिर ४ को निर्वाचनमा एमालेलाई मत दिई साथ दिन उहाँले मतदातालाई अनुरोध गर्नुभयो ।