जनता टाइम्स

१ मंसिर २०७९, बिहीबार १८:२९

रामकुमारीमाथि लाग्यो गम्भीर आरोप, खुल्यो रियलस्टेटका माफियासँग सेटिङको पोल


काठमाडौँ, १ मंसिर । तत्कालिन शहरी विकासमन्त्री रामकुमारी झाँक्रीको कार्यकालमा मन्त्रालयले रियलस्टेटका माफियाको पक्षमा नीतिगत निर्णय गरी भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड संशोधन गरेको सार्वजनिक भएको छ । भवन निर्माण कानूनमा गरेको नीतिगत अनियमिततामा मन्त्री झाँक्रीले करोडौँ रुपियाँको भ्रष्टाचार गरेको मन्त्रालय स्रोतले बताएको छ ।

भवन निर्माणसम्बन्धी आधारभूत मापदण्डमा झाँक्रीले संशोधन गर्नुअघि एक चौथाई जग्गा छोडेर बढीमा तीन चौथाईमा मात्र आवासीय भवन बनाउन पाइन्थ्यो । एक चौथाई जग्गा खुल्ला राख्नुपर्नेमा अब ७ देखि १२ प्रतिशत मात्र खुल्ला जग्गा छोडेर भवन बनाउन पाउने मापदण्ड झाक्रीले बनाएको पाइएको हो ।

त्यसको साथै, जग्गाको क्षेत्रफलअनुसार आवासीय भवनको उचाइको मापदण्डलाई समेत माफियाकै हितमा हुने गरी लचिलो बनाइएको छ । १२ तले आवासीय भवन बनाउन पाइने पुरानो मापदण्ड संशोधन गरी सोही क्षेत्रफलको जग्गामा १६ तले भवन बनाउन पाइने सुविधा थपिएको छ । सहरको सौन्दर्यतामा नकरात्मक असर पार्ने भए पनि क्षमादेवी ग्रुपलगायतका रियल स्टेट कम्पनीसँगको मिलोमतोमा आफ्नो कार्यकालमा मन्त्री झाँकीले यस्तो निर्णय गर्नु भएकोथियो ।

बस्ती विकास शहरी तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण (दोस्रो संशोधन) मापदण्ड २०७८ चैत महिनामा पेश भई यसै वर्षको जेष्ठ १६ गतेको राजपत्रमा प्रकाशित गरिएको थियो । भवनको पुरानो मापदण्डलाई परिवर्तन गरी नयाँ मापदण्ड बनाउन हाउजिंग कम्पनीका मालिकहरुलाई खुशी पारेर तत्कालीन मन्त्री झाँक्रीले मोटो रकम असुलेको अनियमितता शहरी विकास मन्त्रायलयभित्र भवन काण्डको रुपमा चर्चित रहेको छ ।

मन्त्री पदमा नियुक्त भएको केही दिनमा नै झाँक्रीले आफ्नो मातहातका कर्मचारीको सरुवा गरेपछि विवादमा तानिनुभएको थियो। विवाद मथ्थर पार्न उहाँले जबरजस्ती सचिव रमेशप्रसाद सिंहलाई पनि सरुवा गर्नुभएको थियो । त्यसपछि झाँक्रीले आफ्नै जेठाजु लेखाका उपसचिव जीवनराम पुरीलाई पनि आफ्नै मन्त्रालय सरुवा गराउनु भयो । उपसचिव पुरीको योजनाअनुरुप सचिव सिंहलाई आफू अनुकूलको निर्णय गराउने सहमतिमा पुनः सहरी विकासमै ल्याइएको थियो ।

हटाइएका सचिव सिंह रियल स्टेटका मालिकहरुसँगको सेटिगमा १ सय ८ दिनपछि पुनः सहरी विकास मन्त्रालयमा हाजिर हुनुभएको थियो । झाँकी र देवर विवादमा तानिएपछि एक महिनामै उपसचिव पुरीलाई मन्त्रालयबाट सर्लाही सरुवा गरिएको थियो ।

मन्त्री झाँक्रीका श्रीमान् पशुपति पुरी भौतिक योजना मन्त्रालयका उपसचिव रहे पनि शहरी विकास मन्त्रालयसँग सम्बन्धित परियोजनाहरुमा व्यस्त हुने गर्नुभएको थियो ।

झाँक्रीले मन्त्री हुँदा नै परिवारका अन्य सदस्यलाई पनि माथिल्लो तहमा जिम्मेवारी दिने काम गरेको पाइएको छ । उहाँले देवर युवराज पुरी नायव सुब्बा भए पनि अधिकृतले सम्हाल्दै आएको जिन्सी शाखाको प्रमुख बनाउनु भयो । मन्त्री झाँक्रीले नौ महिनाको कार्यकालमा आफूअनुकूलका निर्णय गरी फाइदा लिनेबाहेक उल्लेखनीय कुनै काम नगरेको मन्त्रालयका कर्मचारीहरु बताउँछन् ।