झापा, १ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १३ दिन अघि दार्चुलाको खलंगाबाट सुरु गर्नुभएको चुनावीसभा झापाको गौरीगञ्जमा समापन भएको छ । भारतले सिमाना मिचेको पश्चिम उत्तरी क्षेत्र लिपुलेक, कालापानी क्षेत्रबाट सुरु भएको यो अभियान दक्षिणी भारतीय सिमानामा नै समापन भएको छ । निर्वाचन प्रचारको आज अन्तिम दिन साँझ आफ्नै निर्वाचन क्षेत्र झापा ५ को गौरीगञ्जको विशाल आमसभालाई सम्बोधन गरेर अध्यक्ष ओलीले आमसभाको समापन गर्नुभएको हो ।
गौरीगञ्जको आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले २०४८ सालमा आफू चुनाव लड्न आउँदा यस क्षेत्रमा विकासको सुरुवात नभएको तर अहिले विकासको बहार आएको बताउनुभयो । अध्यक्ष ओलीले आफ्नो सरकारले सबै नेपालीलाई नागरिकता दिने गरी विधेयक ल्याउदा प्रचण्डकी एकजना कार्यकर्ता रोकेर अलपत्र पारेको बताउनुभयो । तर गठबन्धन सरकारले नागरिकता विधेयक रोकेर लाखौं नेपाली माथी अन्याय गरेको अध्यक्ष ओलीले बताउनुभयो ।
‘मंसिर ४ गतेपछि बन्ने एमालेको सरकारले नागरिकता समस्याको स्थायी समाधानको कामलाई प्राथमिकताका साथ सुरु गर्दछ ।’ गठबन्धन गैह्र संवैधानिक रुपबाट बनेको,प्रचण्ड र शेरबहादुर देउवा दुईभाईके मात्र गठबन्धन भएको अध्यक्ष ओलीले बताउनुभयो । यसबीचमा अध्यक्ष ओलीले कास्की, स्याञ्जा, बागलुंग, कालिकोट, दैलेख, सुर्खेत, कञ्चनपुर, कैलाली, सुनसरी, चितवनलगायतका जिल्लामा आयोजना गरिएको करिब ५० वटा आमसभालाई सम्बोधन गर्नुभएको थियो ।














प्रतिक्रिया दिनुहोस्