जनता टाइम्स

२० कार्तिक २०७५, मंगलवार १३:२०

यी हुन् पुदीनाका लोभलाग्दा फाइदा


नेपाली भान्सामा खासगरी अचारको रुपमा प्रयोग गरिने पुदीना लोकप्रिय जडिबुटी हो। यसले खाना पचाउन सहयोग गर्नुका साथै तौल घटाउने, अरुचीबाट मुक्ति दिने, डिप्रेसन तथा थकान घटाउने र टाउको दुखाई हटाउनेलगायतका काम गर्छ। यसका साथै पुदीना दम, स्मरणशक्ति कमजोर भएको र छालाका समस्यामा पनि उपयोगी मानिन्छ।

यो श्वासको दुर्गन्ध हटाउने लोकप्रिय माउथ फ्रेसनर हो, जसलाई वैज्ञानिक भाषामा मेन्था भनिन्छ। दुई दर्जन जात र सयांै प्रकार हुने पुदीनालाई सयौंवर्षदेखि जडिबुटीका रुपमा प्रयोग गरिँदै आएको छ। पुदीनालाई प्रयोग गरेर टुथपेष्ट, चुईङगम, क्यान्डी, इन्हेलरजस्ता औषधिमा प्रयोग गरिन्छ।

धेरैले पुदीनालाई माउथ फ्रेसनरको रुपमा मात्र चिन्छन्। तर स्वास्थ्यका लागि यसका थुप्रै फाइदा छन्।

पाचन प्रक्रियामा सहयोगी
पुदीना पाचन प्रक्रियामा सहयोग गर्ने महत्वपूर्ण जडिबुटी हो। यदि अपचको समस्या भएमा एक कप पुदीनाको रस पिउने हो भने समस्या समाधान हुन्छ। विमान या जहाजबाट लामो यात्रा गर्नेले पुदीनाको तेल लगाउने हो थकान हटाउन सकिन्छ।

टाउको दुखाई निको पार्छ
पुदीनाको ताजा पातले टाउको दुखाई र थकानको समस्या समाधान गर्छ। पुदीनाको तेल या पातको प्रयोगले पेटको समस्या घटाउँछ। पुदीनाबाट बनेको भिक्स नाक या निधारमा लगाएर मालिस गर्नाले टाउको दुखाई पनि निको हुन्छ। गर्मीले दुख्ने टाउको र माइग्रेन पनि यसले निको हुन्छ।

श्वासप्रश्वासको समस्या हुन दिँदैन
यसले नाक, घाँटी, ब्रोङकाई, फोक्सो सफा गर्ने भएकाले दम या रुघाका कारण हुने श्वासप्रश्वाससम्बन्धी समस्या हुन दिँदैंन। दीर्घखोकीका कारण हुने चिडचिडाहट पनि यसले हटाउँछ। यहीकारण हो, अधिकांश भिक्स कम्पनीले पुदीनामा आधारित बनाउँछन्।