श्याङजा, ५ मंसिर । श्याङजा जिल्लाको चापाकोट नगरपालिकाको ४ वटा बुथ काँग्रेस उपाध्यक्ष तथा सो क्षेत्रका उम्मेदवार धनराज गुरुङको अगुवाईमा कब्जा गरिएको आरोप लागेको छ । बुथकब्जा गरी एकै व्यक्तिले सयौं मत खसालेको बताउँदै पुनःमतदानको माग गरिएको छ ।
गठबन्धनबाहेकका उम्मेदवारले पुनः मतदान गर्न माग गर्दै निर्वाचन आयोगलाई पत्र दिनुभएको छ । गठबन्धनका कार्यकर्ताले बुथ कब्जा गरेर एकै व्यक्तिले सयौं पटक मतदान गरेको आरोपसहित उहाँहरूले उजुरीमा उल्लेख गर्नुभएको छ ।
नेकपा एमालेकी उम्मेदवार पद्मा अर्याल, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकाराज गुरुङ, राष्ट्रिय प्रजातन्त्र पार्टीका लालगोपाल अर्याल लगायतले संयुक्त निवेदन दिनुभएको हो ।
चापाकोट नगरपालिकाका ४ वटा बुथमा अप्रत्यासित मत खसेको र प्रहरी प्रशासन पनि गठबन्धनकै मतियार बनेको उहाँहरूको आरोप छ ।
‘स्याङ्जामा सरदर खसेको मत ५६ देखि ६१ छ, तर यहाँ ९९ प्रतिशतसम्म खसालिएको छ । नेपालको इतिहासमा यसरी मत खसेको कुनै अवस्थामा देखिएको छैन,’ पत्रमा भनिएको छ ।













प्रतिक्रिया दिनुहोस्