काठमाडौं, कात्तिक ५ । नेकपा एमालेले चुनावमा भएको सरकारी ज्याद्धतीप्रति कडा आपत्ति जनाएको छ ।
एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीले आज बिज्ञप्ती जारी गरी सरकारले चुनावमा सत्ताको चरम दुरुपयोग गरेको र एमाले कार्यकर्ताको हत्यादेखि बुथ कब्जासम्मको घटनाको भण्डाफोर गर्नुभएको हो ।
यस्तो छ बिज्ञप्ती
यही २०७९ मंसिर ४ गते बाजुरामा सत्ता गठबन्धनका कार्यकर्ताहरूले राज्यशक्तिको आडमा अनेरास्ववियुका केन्द्रीय सचिवालयका सदस्य चेतन अयडीलाई त्रिवेणी नगरपालिका–७ स्थित घरमा सुतिरहेको अवस्थामा नृशंस हत्या गरेका छन् । नेकपा (एमाले) उक्त घटनाको घोर भत्र्सना गर्दछ । घटनामा संलग्न अपराधीहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्नुको सट्टा गृह प्रशासनको मौनताप्रति आपत्ति जनाउँदै हाम्रो पार्टी घटनामा संलग्नहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न जोडदार माग गर्दछ ।
स्याङ्जाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत चापाकोट नगरपालिकाका चारवटा मतदान केन्द्र सत्ता गठबन्धनले कब्जा गरी फर्जी मत खसालेका छन् । त्यहाँ बुथ कब्जा गर्न प्रहरीको प्रत्यक्ष सहयोग भएको छ । हाम्रो पार्टी ती मतदान केन्द्रमा पुनः मतदानको जोडदार माग गर्दछ ।
दोलखाको तामाकोशी गाउँपालिका–२ जफेको कालापानी, जामुने, मालु लगायतमा सत्ता गठबन्धनका उम्मेदवार कुन्दनराज काफ्लेको नेतृत्वमा नेकपा (एमाले) का कार्यकर्ताहरूमाथि साङ्घातिक आक्रमण गरी मतदान केन्द्र कब्जा गरिएको छ । ती मतदान केन्द्रमा जनताको मताधिकार खोसिएको हुँदा पुनः मतदान गरिनुपर्छ ।
सत्ता गठबन्धनबाट गोरखाका दुवै निर्वाचन क्षेत्रका विभिन्न मतदान केन्द्रमा मृतक, अनुपस्थित मतदाताहरूको नामबाट मतदान गरी व्यापक धाँधली भएको छ । त्यहाँ मृतक र अनुपस्थित मतदाताका नाममा मतदान रोक्न खोज्दा हाम्रो पार्टीका मतदान प्रतिनिधिहरूमाथि हातपात गरिएको छ । गोरखा क्षेत्र नम्बर १ अन्तर्गत विन्द्रावती मावि मसेल, बालकल्याण आधारभूत विद्यालय फुस्रेमाटा, आरुघाट गाउँपालिका–१ मान्वु, धार्चे–३ को पार्वती आधारभूत विद्यालय, गोरखा–२ अन्तर्गत सिरानचोक गाउँपालिकाको सरस्वती आधारभूत विद्यालय, वारपाक सुलिकोट गाउँपालिकाको हिमालय मावि सौरपानी, सूर्याेज्योति मावि ताकु मतदान केन्द्रमा नेकपा (एमाले) पुनः मतदानको माग गर्दछ ।
डा.भीष्म अधिकारी
कार्यालय सचिव












प्रतिक्रिया दिनुहोस्