जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार १३:२०

शून्य लागतमै नेपाली कामदार जान पाउने गरी टर्कीसँग श्रम समझदारी गर्दै सरकार


काठमाडौं, साउन २२ । नेपालले युरोपियन मुलुक टर्कीसँग शून्य लागतमा कामदार पठाउने गरी श्रम समझदारीको गृहकार्य अघि बढाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यो गृहकार्य अघि बढाएको हो ।

सहसचिव उमेश ढुंगानाका अनुसर समझदारीका लागि मस्यौदा टर्की पठाउने तयारी भइरहेको छ । ‘हामी खाडी मुलुकको विकल्पका गन्तव्य मुलुक खोजिरहेका छौँ, त्यसै क्रममा टर्कीसँग शून्य लागतको श्रम समझदारीको कुरा अघि बढेको छ,’ सहसचिव ढुंगानाले भन्नुभयो । २०७६ जेठमा सम्पन्न अन्तराष्ट्रिय श्रम संगठन (आइएलओ) को शतवार्षिकीका अवसरमा जेनेभास्थित सम्मलेलनमा टर्कीले नेपालसँग श्रम समझदारी गरी कामदार लैजान इच्छुक रहेको जानकारी गराएको थियो । सो जानकारी लगत्तै नेपालले आफ्नो गृहकार्य अघि बढाएर समझदारी पठाउने तयारी थालेको हो ।

नेपाली कामदारको आकर्षक गन्तव्य मुलुक रहन सक्ने टर्कीले नेपाली कामदारहरु लैजाने मनशाय देखाएपछि श्रम समझदारीको पहल अघि बढाएको श्रम मन्त्रालयको भनाई छ । मन्त्रालयका अधिकारीहरुका अनुसार टर्की पठाउन तयार पारिएको मस्यौदामा नेपाली कामदार टर्की पठाउँदा रोजगारदाताले नै लागत शुल्क व्यहोर्नुपर्ने व्यवस्था समझदारीमा राखिएको छ । त्यस्तै कार्यास्थलको दुर्घटना, बीमा, उपचार, बिदा, ओभरटाइमलगायतका सुविधासमेत समझदारीमै समेटिने मन्त्रालयले जनाएको छ ।

कामदारलाई उचित पारिश्रमिक, सेवासुविधा र सामाजिक सुरक्षाको समेत ग्यारेन्टी हुने गरी श्रम समझदारीका बुँदाहरु पठाइने जानकारी यसअघि नै श्रममन्त्री गोकर्ण बिष्टले दिनुभएको छ । मन्त्रालयका अनुसार दुवै देशबीच ड्राफ्ट समझदारी मस्यौदा आदानप्रदान गरिन्छ र संयुक्त कार्यदल बैठक बसि समझदारीका बुँदाहरुमाथि निश्कर्ष निकालिने छ । अन्तराष्ट्रिय श्रम संगठनको मान्यता अनुसार कामदारलाई पारिश्रमिक तथा सेवासुविधा उपलब्ध हुने गरी समझदारी गरिने उल्लेख गरिएको छ ।