जनता टाइम्स

२२ श्रावण २०७६, बुधबार १३:३६

अलपत्र सुक्खा बन्दरगाह निर्माणको काम


बाँके, साउन २२

बाँके जिल्लाको नेपाल—भारत सीमा क्षेत्रमा सुक्खा बन्दरगाह (इन्ट्रिग्रेटेड कष्टम चेकपोष्ट) निर्माणको काम अलपत्र परेको छ । करीब नौ वर्षअघि निर्माणको काम थालिए पनि उल्लेखनीय प्रगति भएको पाइँदैन । नौ वर्षअघि सो क्षेत्रमा सुक्खा बन्दरगाह निर्माणको योजना तयार गरी काम शुरु गरिए पनि जग्गा अधिग्रहण र तारबारबाहेक खासै प्रगति भएको छैन ।

“अर्को वर्ष बन्छ भन्दाभन्दै आठ वर्ष बितिसक्यो, यस्तो पाराले बन्ने छाँट देखिँदैन”, नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष नन्दलाल वैश्यको चिन्ता छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१६ जयसपुरमा सुक्खा बन्दरगाह निर्माणका लागि करीब ९१ बिगाहामा जमीन अधिग्रहण गरिएको छ ।

अधिग्रहण गरिएको कूल जग्गामध्ये ६७ बिगाहामा कार्यालय, गोदाम लगायतका संरचना निर्माण हुने र २४ बिगाहा जग्गा बाटोका लागि छुट्याइएको सङ्घीय आयोजना एकाइ कार्यालय नेपालगञ्जका इञ्जिनीयर होमनाथ भुसाल बताउनुहुन्छ । सुक्खा बन्दरगाह निर्माणका लागि नेपाल सरकारले जग्गा मात्र उपलब्ध गराउने र अन्य काम भारत सरकारका तर्फबाट हुने सम्झौता भएको छ ।

“सुक्खा बन्दरगाहा निर्माण क्षेत्रमा केही कार्यालय संरचनाबाहेक अन्य पूर्वाधार निर्माणका काम भएको छैन् । भारत सरकारले नै बनाउने सम्झौता भएकाले हामीले पर्खी बस्नुबाहेक अरू केही गर्न सक्दैनौँ”, इञ्जिनीयर भुसालको भनाइ छ । सुक्खा बन्दरगाहा निर्माण भएमा नेपालगञ्ज भन्सार कार्यालयबाट हुने सेवा प्रवाह व्यवस्थित हुने र यसको प्रत्यक्ष लाभ मुलुककै अर्थतन्त्रमा पर्ने यस क्षेत्रका उद्योगी–व्यापारीहरुको बुझाइ छ ।

सुख्खा बन्दरगाहमा मालसामान आयात—निर्यातका लागि आवश्यक पर्ने सबै कार्यालयहरु स्थापना हुनेछन् । नेपालका प्रदेश ५, ७ र कर्णाली प्रदेशका जिल्लामा अहिले उद्योग, व्यापार बढ्दै गएको अवस्थालाई दृष्टिगत गरी भारत र नेपालको आयात–निर्यातलाई सहज व्यवस्थापन गर्न सुख्खा बन्दरगाहा कोशेढुङ्गा साबित हुने विश्वास गरिएको छ । तर ढिलो गरी गरिने कामले योजनाअनुसार प्रतिफल दिँदैन भन्नेतर्पm राज्य गम्भीर हुनु पनि उत्तिकै आवश्यक छ ।