जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार ०६:५१

लाइसेन्सको नयाँ आवेदन खुल्न अझै एक हप्ता


काठमाडौं, ८ मंसिर । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को नयाँ आवेदन खुला गर्न अझै एक हप्ता लाग्ने भएको छ । यातायात व्यवस्था विभागका कर्मचारी, प्रहरी र प्रदेश यातायात कार्यालयका कर्मचारीहरू निर्वाचनमा खटिएकाले विभागले नयाँ आवेदन खुला गर्न सकेको छैन ।

निर्वाचनको मत गणना अन्तिम चरणमा नपुग्दासम्म आवेदन खुलाउन सहज नुहने विभागले जनाएको छ । विभागले मङ्सिर १ गतेदेखि लाइसेन्स आवेदन बन्द गरेको थियो ।

कर्मचारीहरू निर्वाचनमा खटिनुपर्ने भएकाले अर्को सूचना जारी नभएसम्मका लागि नयाँ आवेदन बन्द गरेको हो । विभागले ट्राफिक प्रहरी र सम्बन्धित कार्यालयसँग समन्वय गरेर खुला गर्ने जनाएको छ ।

विभागका प्रवक्ता ईश्वरीप्रसाद पनेरुले भन्नुभयो, ‘प्रहरी र प्रदेश यातायात कार्यालयसँग बिहीबार बैठक बस्दैछौँ, बैठकपछि आवेदन खुला गर्ने मिति टुङ्गो लाग्छ ।”