जनता टाइम्स

८ मंसिर २०७९, बिहीबार १४:३३

रञ्जु दर्शनाको जमानत जफत


काठमाडौं, मंसिर ८ । प्रतिनिधि सभा सदस्यका उम्मेदवार रञ्जु न्यौपाने (दर्शना) को जमानत जफत भएको छ ।

विवेकशील साझा पार्टीबाट सक्रिय रुपमा राजनीतिमा होमिनु भएकी रञ्जुले यसपटक काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएको थियो । तर, कुल खसेको सदर मतको जम्मा १.४ प्रतिशत मत मात्रै प्राप्त गरेपछि उहाँको जमानत जफत भएको हो ।

काठमाडौं ५ को सदर मत ४४ हजार २४९ रहेको छ । निर्वाचनमा रञ्जुले ६ सय मत प्राप्त गर्नुभएको छ । २०७४ को स्थानीय निर्वाचनबाट निकै चर्चामा आउनु भएकी रञ्जु यसपटक भने निकै निराशाजनक अवस्थामा पुग्नुपरेको हो ।

२०७४ को स्थानीय तह निर्वाचनमा उहाँले विवेकशील साझा पार्टीबाट काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएर २३ हजार ४३९ मत ल्याउनु भएको थियो ।

यसपटक प्रतिनिधि सभा सदस्यमा उठ्दा निकै कम मत प्राप्त गरी जमानत नै जफतको अवस्थामा पुग्नुभएको हो । निर्वाचनमा भएको मतदानमा खसेको कुल सदर मतको १० प्रतिशत नपुग्ने उम्मेदवारको जमानत जफत हुने कानुनी व्यवस्था छ ।