जनता टाइम्स

९ मंसिर २०७९, शुक्रबार १५:२०

विश्वकपमा आज दोस्रो राउण्डका खेल हुँदै, पहिलो राउण्डमा ११ टिमको ३ अंक


काठमाडौं, ९ मंसिर । कतारमा जारी फिफा विश्वकपमा आजबाट समुह चरणको दोस्रो राउण्डका खेलहरु हुँदै छन् । सबै टिमहरुले पहिलो खेल खेलिसकेकोले आजबाट समुह चरणको दोस्रो राउण्डका खेलहरु हुन लागेका हुन् । जस अनुसार आज पनि ४ खेल हुनेछन् । आज पहिलो खेलमा ३ः४५ बजे वेल्स र इरान भिड्ने छन् भने दोस्रो खेलमा ६ः४५ मा कतार र सेनेगल भिड्ने छन् ।

त्यस्तै तेस्रो खेलमा ९ः४५ बजे नेदरल्याण्ड र इक्वेडर भिड्ने छन् भने राति १२ः४५ बजे हुने आजको अन्तिम खेलमा इंग्ल्यान्ड र अमेरिका भिड्ने छन् । समुह चरणको पहिलो खेलमा सहभागी ३२ मध्ये ११ टिमले जित निकाल्दै ३ अंक जोड्न सफल भएका छन् । त्यस्तै १० टिमले बराबरी खेल्दै १ अंक जोड्न सफल भएका छन् ।

बाँकि ११ टिम अंक बिहिन छन् । ३ अंक जोड्ने ११ टिमहरुमा ईक्वेडर, नेदरल्याण्ड , इंग्ल्यान्ड, साउदी अरेबिया, फ्रान्स, स्पेन, जापान, बेल्जियम , ब्राजिल, स्विजरल्याण्ड, र पोर्चुगल रहेका छन् । १ अंक जोड्ने टिममा अमेरिका, वेल्स, मेक्सिको, पोल्याण्ड, डेनमार्क, ट्युनिसिया, मोरोक्को, क्रोएसिया, युरुग्वे र कोरिया रिपब्लिक रहेका छन् ।

बाँकि टिम भने अंक बिहिन छन् । पहिलो राउण्डको खेलमा साउदी अरेबियाले अर्जेन्टिनालाई २(१ गोलले हराएको थियो भने जापानले गेर्मानीलाई २(१ गोलले हराएको थियो । २ एसियाली देशले उपाधि दाबेदार मानिएका टिमलाई पहिलो खेल मै हराएर विश्वकपलाई रोचक बनाएका छन् ।