जनता टाइम्स

१० मंसिर २०७९, शनिबार ०९:०१

सहोदर दाजुभाई नै प्रदेशसभा बने सदस्य


बुटवल, मंसिर १० । मंसिर ४ गते सम्पन्न प्रदेशसभा सदस्यको निर्वाचन अन्तर्गत लुम्बिनी प्रदेशसभा सदस्यमा सहोदर दाजुभाई नै निर्वाचित भएका छन । पाल्पा र रुपन्देही जिल्लाबाट उनीहरु निर्वाचित भएका हुन ।

रुपन्देही क्षेत्र नम्बर २ को क बाट निर्वाचित भोजप्रसाद श्रेष्ठ र पाल्पा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित राजुप्रसाद श्रेष्ठ सहोदर दाजुभाइ हुनुहुन्छ । दुवै जना नेकपा एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

पाल्पाको रामपुरबाट रुपन्देही बसाइ सर्नुभएका भोजप्रसाद २०५४ सालको बुटवल नगरपालिकाको नगरप्रमुखसमेत हुनुभएको थियो । यसैगरी रामपुरमै बसोवास गर्ने राजुप्रसाद पनि २०७४ मा रामपुर नगरपालिकामा नगरप्रमुखमा पराजित हुनुभएको थियो । यसपटक भने उहाँ प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

निर्वाचित भोजप्रसादले १६ हजार ३ सय मत पाएर बिजयी हुनुभएको छ भने उहाँका भाई राजु प्रसादले १७ हजार ६ सय ४२ मत प्राप्त गर्नुभएको छ ।