जनता टाइम्स

१० मंसिर २०७९, शनिबार ११:२३

चुनावी खर्च सार्वजनिक गर्दै रविले गरे १० अठोट


काठमाडौं, मंसिर १० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो चुनावी खर्च सार्वजनिक गर्नुभएको छ । चितवनको प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित लामिछानले आज सामाजिक सञ्जालमार्फत आफ्नो चुनावी खर्च सार्वजनिक गर्नुभएको हो ।

उहाँले चुनावी अवधिमा ११ लाख ८१ हजार ४७२ खर्च भएको बताउनु भएको छ । लामिछानेले औपचारिक सपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पूर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेसमेत बताउनु भएको छ ।

सामाजिक सञ्जालमार्फत जनाकारी दिँदै सभापति लामिछानेले आजदेखि खुसियाली मनाउने दिन सकिएको घोषणा पनि गर्नुभएको छ । लामिछानेले आफ्नो कार्यकालभरि कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने प्रतिवद्धता जनाउँदै संघसंस्थाको उद्घाटन, आसन ग्रहणमा सहभागी नहुने घोषणा गर्नुभएको छ । लामिछानेल प्रत्यक चार महिनामा सार्वजनिक सुनुवाइमा आफैं उपस्थित हुने पनि जानकारी दिनुभएको छ ।

यस्तो छ लामिछानेको अठोट

आदरणीय चितवन- २ का आमाबुबा दाजुभाइ दिदिबहिनीहरु।
आजबाट विजयको खुसियाली मनाउने सम्पुर्ण कार्यक्रमहरु सकिएको जानकारी गराउन चाहन्छु। सबै माध्यमबाट तपाईंले दिनु भएका शुभकामनाहरुलाई यहि बाट एकमुष्ठ धन्यवाद दिन चाहन्छु । आफ्ना केही कुरा बुंदागत रुपमा राखें।
१) मेरो चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ देखिएको छ। (पछि सम्मका लागि सोचेर खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाब जोडिएको छैन)
२) कार्यकाल भरी कुनै पनि सम्मान, पुरस्कार, उपहार ग्रहण नगर्ने निधो गरेको छु।
३) सबै संघ संस्थाहरुको हकहितको नितिगत काममा दिलोज्यानले लाग्नेछु तर ती कार्यक्रमहरुको उद्घाटन, आसनग्रहण भाषणहरुमा म सहभागी हुने छैन तर आफ्नो साटो एक जना प्रतिनिधि अनिवार्य पठाउने छु। (पहिले नै वाचा गरेका ७ वटा कार्यक्रममा चाहिँ जानै पर्ने छ। ती कार्यक्रमहरुमा १ घण्टा भन्दा बढि समय लगाउने छैन)
४) भोज,भतेर,पारिवारिक उत्सव जमघट आदिमा सहभागी हुन सकिन भने माफ गरिदिनु होला।
५) मिडियाहरुमा अन्तर्वार्ता दिने र पार्टीका नितिहरु बारे बोल्ने जिम्मा पार्टीका अन्य साथीहरूलाई दिइएको छ। प्रवक्ता तथा सूचना अधिकारीहरुले यसमा सहयोग गर्नु हुने छ।
६) प्रत्यक ४/४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन भने म आफै उपस्थित हुनेछु।
७) कुनै पनि रेस्टुरेन्ट, होटल, सिनेमा हल, पार्किङ आदिको सेवा सित्तैमा लिने छैन। अरु ग्राहकलाई झै समान मूल्य तिराउनु होला। कुनै किसिमका उपहार,मायाको चिनोहरुमा एक पैसा पनि खर्च नगर्नु होला।
८) औपचारिक शपथग्रहणको दिन वा त्यस अगावै आफ्नो चुनावी खर्चको पुर्ण विवरण तथा आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नेछु।
९) सपथग्रहण लगत्तै आफनो नम्बर सबैका लागि सार्वजनिक गर्नेछु। त्यतिन्जेल सम्मका लागि आफ्ना गुनासो वा सुझाव भए लिखित रूपमा चितवन ११ स्थित घरमा राखिएको “भन्नुहोस् के सेवा गरौ” लेखिएको बाकसमा खसाउनु होला।
१०) लामो लामो राजनीतिक छ्लफलहरु भन्दा सुशासन, समृद्धिका अर्थपुर्ण छ्लफलहरुमा मेरो रुचि रहनेछ। आर्थिक विकास, रोजगारी सिर्जना, आत्मनिर्भरता, समुदायमा युवाहरुको संलग्नता, महिला सशक्तीकरण जस्ता विषयका सटिक र अर्थपुर्ण बहसहरुमा सहभागीहुन म खोजी खोजी आउने छु।
अन्त्यमा,
राजनीतिक भेटघाट र पार्टीको महत्वपुर्ण कामका लागि आज साँझ काठमाडौ जादैछु। केही दिनमा नै चितवन २ मा आफ्नो कार्यालय खोलेर तपाईहरुको सेवामा समर्पित हुनेछु। पुर्ण चुनावी नतिजा र संसदीय प्रक्रिया नस्किउन्जेल धैर्य पुर्वक बसिदिनु होला। म सम्भव भएसम्म धेरै भन्दा धेरै समय आफ्नो चुनावी क्षेत्रमा नै रहने वाचा गर्दछु। हामी आज बाटै काममा लाग्यौं।