जनता टाइम्स

१० मंसिर २०७९, शनिबार १८:३९

चुनावी परिणामले अप्ठेरो अवस्था सृजना गरेपनि एमालेले अस्थिरतालाई स्थिरतामा बदल्ने प्रयाश गर्छ : केपी ओली


झापा, मंसिर १० । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको परिणामले मुलुकमा अप्ठेरो अवस्था सृजना गरेको बताउनुभएको छ ।

झापा निर्वाचन क्षेत्र नम्बर–५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएका अध्यक्ष ओलीले आज मतदातासँको भेटघाटका क्रममा मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनले यस्तो अवस्था सिर्जना गरेको प्रष्ट पार्नुभएको हो । कुनै पनि दलको बहुमत नआउने देखिएकाले सरकार गठन गर्न गाह्रो हुने र गठन भएपनि त्यसलाई टिकाउन झनै गाह्रो हुने अवस्था देखिएको अध्यक्ष ओलीले बताउनु भयो ।

जनतालाई अलमलमा पार्ने काम भएकाले एमालेले पाउनुपर्ने मत समेत नपाएको उहाँको भनाई छ देशको अन्य क्षेत्र भन्दा झापामा आएको निर्वाचन परिणामले आफू उत्साहित भएपनि समग्रमा चुनावी परिणामले देशलाई अस्थिरतातर्फ लगेको ओलीले बताउनु भयो ।

’यसपल्टको निर्वाचन परिणामले अप्ठेरो परिस्थिति सृजना गरेको छ, हामीले स्थिरता र स्थायित्वका लागि सुदृढ राष्ट्रिय शक्तिको आव्हान गरेका थियौं, यस ठाउँका जनताले बुझ्नुभयो र साथ दिनुभयो, यस्तै परिणाम सबैतिर आएन,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘देशका सबै ठाउँमा जनतालाई अलमलमा पारेको र परेको देखियो,जस्ले गर्दा एउटा भिजन भएको, भिजन कार्यान्वयन गर्ने नीति, संकल्प र अठोट भएको, त्यसलाई कार्यान्वयन गर्ने संगठन भएको पार्टीले जति मत पाउनुपर्ने थियो पाउन सकेन, त्यसले गर्दा देश फेरि एकपल्ट गम्भीर अस्थिरतातर्फ गएको छ, विभिन्न प्रकारका बाह्य शक्तिहरुको खेल फेरि पनि सफल भयो ।’

अध्यक्ष ओलीले देशका अन्य राजनीतिक शक्तिहरु राष्ट्रको हित, स्थिरता स्थायित्वको पक्षमा, राष्ट्रको सुन्दर भविष्य र अस्तित्वमा पक्षमा उभिन नसकेर संकिर्ण स्वार्थतर्फ केन्द्रित हुँदा देश फेरि अस्थिरता र अन्यौलतातर्फ गएको धारणा राख्नुभयो ।

अध्यक्ष ओलीले एमाले विरुद्ध घेराबन्दी गर्ने प्रयास भएपनि त्यसलाई एमालेले पराजित गरेको तथ्य भने राख्नुभयो । एमालेलाई सिध्याउँछौं भनेर भित्र र बाहिरका शक्तिहरु एकजुट भएर लागेपनि लोकप्रिय मतका हिसाबले एमाले देशकै पहिलो शक्तिको रुपमा उभिएको अध्यक्ष ओलीले बताउनुभयो ।

आफू नेतृत्वको सरकारले विगतमा राष्ट्रिय हित र विकास निर्माणका सवालमा अभूतपूर्व काम गरेको र आगामी दिनमा पनि एमाले आफ्नो उद्देश्यबाट विचलित नहुने बताउनुभयो । अध्यक्ष ओली जस्तोसुकै परिस्थिति आएपनि देशलाई अप्ठेरो नपर्नेगरी एमालेले निर्णय गर्ने बताउनुभयो । सरकार गठन गर्ने सबालमा पनि एमालेले सही निर्णय लिने उहाँले भनाई छ ।

’अहिले सरकार गठन गर्न अलि असहज छ, तर एमालेले यसमा आफूलाई अत्यन्त जिम्मेवार रुपमा प्रस्तुत गर्नेछ, देश अप्ठेरोमा नपरोस् भन्ने कुरालाई ख्याल गरेर, सरकार गठनको प्रश्नमा देशलाई अस्थिरतातर्फ जान नदिने कुरामा सजकता सचेतता अपनाएर प्रयास गर्नेछ,सरकारै बन्न नसकेर फेरि चुनाव हुन सक्ने अवस्था छ,त्यस्तो स्थिति नआहोस् भनेर एमालेले कोशिस गर्नेछ,’ अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकार बनेपनि अस्थिरता र संकिर्ण स्वार्थका खेलमा देश नरोमल्लियोस् त्यसमा पनि एमालेको ध्यान छ ।’

एमाले जस्तो खारिएको, माझिएको, विशाल संगठन भएको पार्टी भएकाले एमालेले देशलाई बर्बाद हुनबाट जोगाउने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले अस्थिरतालाई स्थिरतामा बदल्ने दिशामा एमालेले ध्यान दिने समेत प्रष्ट पार्नुभएको छ ।