जनता टाइम्स

११ मंसिर २०७९, आईतवार १३:२९

बिष्णु पौडेलको गृहजिल्लामा प्रतिनिधिसभामै सत्ता गठबन्धन क्लिनस्वीप, माओवादी–नेकपा एस प्रदेशसभामा पनि सून्य


बुटवल, मंसिर ११ । सत्तारुढ गठबन्धनले रुपन्देहीका पाँच वटै प्रतिनिधिसभामा पराजयको सामना गर्नुपरेको छ । मतदाताले गठबन्धनलाई अस्वीकार गर्दै नेकपा एमाले नेतृत्वको तालमेललाई मतदान गरेपछि रुपन्देहीको पाँचवटै निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन पराजीत हुनुपरेको हो ।

चुनावी परिणाम आउँदा गठबन्धनको नेतृत्व गरेको नेपाली कांग्रेसकै नेता गहमन्त्री बालकृष्ण खाँण पराजीत हुनपरेको छ । अघिल्लो निर्वाचनमा बाम गठबन्धन गर्दासमेत एक्लै जितेको ३ वटा क्षेत्र गठबन्धन गर्दासमेत कांग्रेसले यसपटक गुमाउनु परेको छ । जस्को कारण रुपन्देहीमा सत्ता गठबन्धन पूर्ण असफल भएको हो । यहाँ एमालेले ३ क्षेत्र जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीले एक÷एक क्षेत्र जितेको छ ।

नेपाली कांग्रेसले यसअघि एमाले र माओवादीबीच वाम तालमेल हुँदा एकल रुपमा जितेका तीन क्षेत्र अहिले गुमाएको हो । रुपन्देहीमा सत्ता गठबन्धनका ४ दलसँगै जनमुक्ति, लोसपा र नेसपाको सहयोग लिएको थियो । त्यस्तै एमाले, राप्रपा र जसपाबीच चुनावी तालमेल भएको थियो । प्रदेशसभामा सत्ता गठबन्धनको माओवादी शून्य हुँदा कांग्रेसले २ सीटमा चित्त बुझाउनु परेको छ । गठबन्धनमा रहे पनि मित्रवत प्रतिस्पर्धा गरेको लोसपाले पनि रुपन्देहीमा २ क्षेत्र जितेको छ ।

सत्ता गठबन्धनबाट क्षेत्र नं ३, ४ र ५ को प्रतिनिधिसभा कांग्रेस, १ माओवादी र २ नेकपा एसलाई भागबन्डा भएको थियो । तर २ नम्बर क्षेत्रमा अन्तिम समयमा उम्मेदवारी खारेज भएपछि जनमुक्तिलाई समर्थन गरिएको थियो । एमाले, राप्रपा र जसपाको तालमेलमा १, २ र ५ एमाले, ३ राप्रपा र ४ जसपालाई भागबन्डा गरिएको थियो ।

प्रतिनिधिसभामा क्षेत्र नं १ बाट एमालेका छविलाल विश्वकर्मा टिकट नपाएपछि एमाले छाडेर सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका घनश्याम भुसाललाई हराउँदै विजयी हुनुभयो । विश्वकर्माले २४ हजार ८७२ मत ल्याउँदा भुसाल २१ हजार ३०८ मतमा रोकिए । सो क्षेत्रमा प्रदेशसभा क बाट राप्रपाका आशिष चौधरी र ख बाट कांग्रेसका अब्दुल रज्जाक विजयी हुनुभएको छ ।

यस्तै क्षेत्र नं २ बाट एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई पराजित गर्दै विजयी हुनुभएको छ । यहाँ सत्ता गठबन्धनका उम्मेदवार जनमुक्तिका केशवबहादुर थापा तेस्रो हुनुपरेको छ । रुपन्देही २ मा प्रदेशसभा क मा एमालेका लीला गिरी र प्रदेश ख मा एमालेकै भोजप्रसाद श्रेष्ठ विजयी हुनुभएको छ ।

यस्तै क्षेत्र नं ३ बाट प्रतिनिधिसभामा राप्रपाका उपाध्यक्ष दीपक बोहोराले नेपाली कांग्रेसका नेता गृहमन्त्री बालकृष्ण खाणलाई पराजित गर्दै विजयी हुनुभएको छ । बोहोराले ३६ हजार ६४८ मत ल्याउँदा खाणले ३४ हजार ६ मतमा चित्त बुझाएर उपबिजेता बन्नुभएको छ । सो क्षेत्रमा प्रदेशसभा क मा लोसपाका सन्तोष पाण्डे र ख मा एमालेका तुलसी चौधरी विजयी हुनुभएको छ ।

यस्तै क्षेत्र नं ४ बाट लोसपाका सर्वेन्द्रनाथ शुक्ल नेपाली कांग्रेसका प्रमोद यादवलाई पराजित गर्दै विजयी हुनुभएको छ । शुक्लले २८ हजार मत ल्याउँदा यादवले २२ हजार ७०४ मत पाउनु भएको छ । सो क्षेत्रको प्रदेशसभा क मा लोसपाका कन्हैया बानिया र ख मा नेपाली कांग्रेसका बसिउद्दिन खाँ विजयी हुनुभएको छ ।

क्षेत्र न ५ मा नेकपा एमालेका वासुदेव घिमिरेले कांग्रेसका भरत शाहलाई पराजित गर्दै विजयी हुनुभएको छ । घिमिरेले ३६ हजार ८२२ मत ल्याउँदा शाह २७ हजार १२० मतमा रोकिनु परेको छ । सो निर्वाचन क्षेत्रको प्रदेशसभा क मा एमालेका भूमिश्वर ढकाल र ख मा जनमत पार्टीका सीके गुप्ता विजयी हुनुभएको छ ।

निर्वाचनको अन्तिम परिणाम आउँदा रुपन्देहीमा गठबन्धन गर्दा कांग्रेसलाई ठूलो घाटा लागेको छ भने नेकपा माओवादी र नेकपा एकीकृत समाजवादी क्लिन स्वीप भएको छ ।