जनता टाइम्स

१२ मंसिर २०७९, सोमबार १४:४१

गगन रोक्न मैदानमा उत्रिए काँग्रेसका चार बुढा नेतादेखि प्रचण्ड–माधवसम्म


काठमाडौं, मंसिर १२ । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई प्रधानमन्त्री बन्न नदिन सभापति शेरबहादुर देउवासहित चार बुढा नेता मैदानमा उत्रनुभएको छ ।

चुनावअगावै प्रधानमन्त्रीका लागि आफ्नो जीत अनिवार्य रहेको बताउनु भएको थापाले चुनाव जितेलगत्तै संसदीइ दलको नेता बन्ने अभियान थालेको बताउनु भएको थियो । थापाले प्रधानमन्त्रीका लागि दलको नेता बन्ने घोषणा गरेपछि सभापति देउवासहितका चार नेता उहाँलाइे छेक्ने अभियानमा लाग्नुभएको छ ।

सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह र डा. सशांक कोइरालाले प्रधानमन्त्रीको दावी गर्नुभएको छ । उहाँहरु सवै देउवा पक्षकै नेता हुनुहुन्छ । गत महाधिवेशनमा अन्तिम समयमा युवालाई होइन बुढालाई नै सभापति भन्दै डा. शेखर कोइरालाको साथ छाडेर उहाँहरु देउवा क्याम्पमा जानुभएको थियो । महामन्त्री थापा भने शेखर पक्षधर हुनुहुन्छ । यही कारण गगनको अभियानमा डा. शेखरेले साथ दिनुभएको छ ।

यता देउवा पक्षधर सवै बुढा नेताले गगनको प्रधानमन्त्री हुने समय नआएको भन्दै आफूहरु नै हुने दावी गरेका छन । तर महामन्त्री बिश्वप्रकाश शर्माले आफू गगनलाई सहयोग गर्ने सार्वजनिक उदघोष गर्नुभएको छ । सत्ता गठबन्धनको एकल बहुमत नआएको अवस्थामा निर्णायक देखिएको राष्ट्रिय स्वतन्त्र पार्टीले देउवा वा गठबन्धनका अन्य पुराना नेतालाई सहयोग नगर्ने भन्दै गगनलाई हरियो बत्ति बालेको छ ।

यही अवस्थामा आज प्रधानमन्त्री देउवाले गठबन्धनका घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसँग छलफल गर्नुभएको छ । छलफलमा जसरी पनि गगनको अभियान रोक्ने र नेकपा एसलाई समानुपातिकमा थ्रेसहोल्ड कटाउन पुनः निर्वाचन हुने सवैमा मत हाल्ने रणनीति तय गरेको बुझिएको छ ।

सभापति देउवा निकट उम्मेदवारले आफू हारेपछि राष्ट्रिय स्वतन्त्र पार्टीको घन्टीमा मत हाल्न लगाएर थापाले नै आफूहरुलाई हराएको भन्दै उजुरी दिइसकेका छन । देउवाले सो उजुरी आएको भन्दै मिडियामा एकैपटक समाचारसमेत लेखाइसक्नु भएको छ । गगनलाई प्रधानमन्त्री बन्नबाट रोक्नका लागि यो अभियान चलाइएको बालुवाटार निकट नेताहरुले बताएका छन ।

स्रोतका अनुसार आजको छलफलमा प्रचण्ड र माधवले गगन थापालाई रोक्न नसके आफूहरुको राजनीति समाप्त हुने र रवि लामिछानेहरु हावी हुने भन्दै जसरी पनि रोक्न देउवालाई सुझाव दिनुभएको बुझिएको छ ।

स्रोतका अनुसार देउवासँगको छलफलको क्रममा प्रचण्डले गगन थापाको संभावित योजना तुहाउनकै लागि आफूले चुनावको परिणाम आएलगत्तै निकटमार्फत गगन थापा र रवि लामिछानेहरु मिलेको र थापाले गद्धारी गरेको भनेर सार्वजनिक रुपमा बोल्न लगाएको जानकारीसमेत देउवालाई गराउनु भएको थियो ।