जनता टाइम्स

१४ मंसिर २०७९, बुधबार १३:३६

गगनलाई प्रधानमन्त्री बनाउन बिश्वप्रकाश आफै लागेपछि


मेरो भनाइ के छ भने अहिले देशको नेतृत्व बदल्ने हो। प्रधानमन्त्री पदका लागि पछिल्लो पुस्ताले नेतृत्व गर्न सक्छ भन्ने विश्वास जागृत गराउने हो । म संसदमा पहिलो पटक पुग्दै गरेको मान्छेसँग अनुभव छैन, त्यो प्रकारको दक्षता छैन भन्ने लाग्छ । क्षमता नराखौंला भन्ने होइन संगठन कमाण्ड गरेर आएको मान्छे हुँ। तर अहिले प्रधानमन्त्रीका लागि चाहिने अनुभव छैन, त्यसैले अब को त भन्दा मेरो सँगैको साथी गगन थापाले गर्न सक्छन् भनेर मैले प्रस्ताव गरेको हुँ

काठमाडौं, मंसिर १४ । नेपाली कांग्रेसका महामन्त्री बिश्वप्रकाश शर्माले अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्री बनाउनका लागि आफूले कुनै कसर बाँकी नराख्ने घोषणा गर्नुभएको छ ।

नेकपा एमालेको लालकिल्ला रहेको झापा क्षेत्र नम्बर १ बाट भारी मतले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई मतदातालाई धन्यवाद दिएर काठमाडौं आउनु भएका कांग्रेस महामन्त्री शर्माले प्रधानमन्त्रीका लागि पार्टी सभापति शेरबहादुर देउवासहित बुढा नेताहरु लागिरहेको बेला अव गगनकै पालो भन्दै आफ्नो अडान सार्वजनिक गर्नुभएको छ ।

कांग्रेसभा प्रधानमन्त्रीका लागि सभापति देउवासहित बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह, डा. सशांक कोइराला आकांक्षी हुनुहुन्छ । तर महामन्त्री शर्मा भने यसपटक गगनको बिकल्प नरहेको बताउनु हुन्छ । यही निश्कर्षका आधारमा शर्मा काठमाडौं आएलगत्तै थापा निवासमै पुगेर प्रधानमन्त्री बनाउन संसदीय दलको नेताको चुनावमा आफै गगनको प्रस्तावक बस्ने घोषणा गर्नुभएको छ ।

पार्टीमा महामन्त्री रहेका आफ्नै प्रतिस्पर्धी रहेका थापालाई प्रधानमन्त्री बनाउन लाग्ने घोषणा गरेपछि शर्माको चर्चा निकै चुलिएको छ । शर्माले संसदीय दलमा गगनलाई सर्वसम्मत बन्न नदिए निर्वाचन हुने घोषणा पनि गर्नुभएको छ ।

पहिला त मैदानमा जानुपर्यो। विश्वकप खेल्न आएका सबै टिमले जित्छु भनेरै आएका हुन्छन नि। अहिले हाम्रो संसदीय दलमा पनि धेरै जना मैदानमा उत्रिने देखिएको छ । अन्तिममा परिणाम के हासिल हुन्छ भन्ने हेर्न केही पर्खौं । हामीले राम्रो खालको वातावरण बनाउने छौं 

गगन प्रधानमन्त्रीका लागि सवैभन्दा उपयुक्त पात्र रहेको भन्दै शर्माले भन्नुभएको छ, ‘मेरो भनाइ के छ भने अहिले देशको नेतृत्व बदल्ने हो। प्रधानमन्त्री पदका लागि पछिल्लो पुस्ताले नेतृत्व गर्न सक्छ भन्ने विश्वास जागृत गराउने हो । म संसदमा पहिलो पटक पुग्दै गरेको मान्छेसँग अनुभव छैन, त्यो प्रकारको दक्षता छैन भन्ने लाग्छ । क्षमता नराखौंला भन्ने होइन संगठन कमाण्ड गरेर आएको मान्छे हुँ। तर अहिले प्रधानमन्त्रीका लागि चाहिने अनुभव छैन, त्यसैले अब को त भन्दा मेरो सँगैको साथी गगन थापाले गर्न सक्छन् भनेर मैले प्रस्ताव गरेको हुँ ।’

गगन थापालाई प्रधानमन्त्रीमा प्रस्ताव त गर्नुभयो तर भोलि संसदीय दलमा उहाँको बहुमत पुग्छ त ? भन्ने जिज्ञासामा शर्माले जीतको लागि बातावरण बनिरहेको बताउनु भएको छ । सभापति देउवा आफैं प्रधानमन्त्री बन्ने तयारीमा हुनुहुन्छ । उहाँले संसदको टिकट बाँड्दा नै आफू बलियो हुने गरी बाँड्नुभएको भन्ने छ । अरू पनि आकांक्षी देखिन्छन कत्तिको सहज छ ? भन्ने  प्रश्नमा शर्माले भन्नुभएको छ, ‘पहिला त मैदानमा जानुपर्यो। विश्वकप खेल्न आएका सबै टिमले जित्छु भनेरै आएका हुन्छन नि। अहिले हाम्रो संसदीय दलमा पनि धेरै जना मैदानमा उत्रिने देखिएको छ । अन्तिममा परिणाम के हासिल हुन्छ भन्ने हेर्न केही पर्खौं । हामीले राम्रो खालको वातावरण बनाउने छौं ।’

बिश्वप्रकाशको यो कामले कांग्रेसभित्र मात्रै होइन, बिपक्षी पार्टीका नेताहरुलाई समेत तरंगित गरेको छ ।