जनता टाइम्स

१५ मंसिर २०७९, बिहीबार १०:२१

स्याङ्जा र बाजुरामा सत्तापक्षले गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दियो : महासचिव पोखरेल


काठमाडौं, मंसिर १५ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले निर्वाचनमा सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधली गरेको बताउनु भएको छ । बिहीबार महासचिव पोखरेलले सत्तापक्षले सेटिङ मिलाएर गरेको धाँधलीलाई निर्वाचन आयोगले वैधता दिएको आरोप लगाउनु भएको हो ।

पोखरेलले फेसबुकमार्फत भन्नुभएको छ, ‘स्याङजा र बाजुरामा सत्तापक्षले सेटिङ मिलाएर गरेको नाङ्गो धाँधलीलाई निर्वाचन आयोगले वैधता प्रदान गर्नुले गम्भीर चिन्ता बढाएको छ ।’

निर्वाचन आयोगले बुधबार स्याङजा र बाजुरा जिल्लामा मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । त्यसपछि स्याङ्जा २ मा मतपेटिका थन्क्याएको एघारौं दिन बुधबार बेलुकी गणना थालिएको हो । मंसिर ४ गते मतपेटिका ल्याएर वालिङ नगरपालिकाको मतगणनास्थलमा राखेपछि धाँधलीको आरोप लगाउँदै एमालेले पुनः मतदानको माग गरेको थियो ।

एमाले नेता कार्यकर्ता १० औं दिनसम्म प्रदर्शनमा उत्रिएका थिए । कांग्रेस नेता कार्यकर्ता विधि प्रक्रिया पूरा गरी गणनास्थलमा ल्याइसकेको मत गनिनुपर्ने माग गर्दै ९ दिनदेखि आन्दोलनमा उत्रिएको थियो । एमालेले चापाकोटका ४ बुथ कांग्रेसले कब्जा गरेको आरोप लगाउँदै उजुरी गरेको थियो।

स्याङ्जा प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले सचिव पदमा अर्यालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । उहाँहरूबीचको प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले टक्कर दिने पनि आँकलन हुन थालेको छ । गठबन्धन सहितको कांग्रेसका उम्मेदवार गुरुङ पहिलो पटक प्रत्यक्षतर्फका उम्मेदवार हुन । यसअघि उहाँ समानुपातिकबाट २ पटक सांसद बनिसक्नु भएको छ । एमाले उम्मेदवार अर्याल यसअघि पनि यही क्षेत्रबाट निर्वाचित हुँदै मन्त्री बन्नुभएको थियो ।

बाजुरामा सर्वदलीय बैठकमा एमाले अनुपस्थित बाजुरामा कांग्रेस र एमालेबीच एकार्काले बुथ कब्जा गरेको आरोपप्रत्यारोप चलेको छ । मतदानस्थलमा एमाले र कांग्रेसका कार्यकर्ताबीच विवाद हुँदा दुई जनाले ज्यान गुमाएका थिए । प्रहरीको गोली लागेर कांग्रेस कार्यकर्ता संजीव एडीको ज्यान गएको थियो । त्यसपछि कांग्रेस कार्यकर्ताको कुटपिटबाट अनेरास्वयुका केन्द्रीय सदस्य चेतन एडीको ज्यान गएको छ ।

निर्वाचनमा धाँधली भएको, स्वतन्त्र मतदान गर्न नपाएको र १६ वटा बुथ कब्जा गरी कांग्रेसले धाँधली गरेको भन्दै एमालेले उजुरी दिएको थियो । एमालेले ८ बुथ कब्जा गरेको भन्दै कांग्रेसले उजुरी दिएको थियो । उक्त उजुरीमाथि छानबिन गर्न आयोगको टोली बाजुरा आएको थियो ।

टोलीको प्रतिवेदनका आधारमा मतगणना गर्न आयोगले बुधवार निर्देशन दिएको हो । एमाले महासचिव पोखरेलले यी दुई जिल्लामा निर्वाचन आयोगले सत्ता गठबन्धनको योजनालाई सघाएको भन्दे आपत्ति जनाउनु भएको हो ।