जनता टाइम्स

१६ मंसिर २०७९, शुक्रबार १७:३९

एमालेसँग संघ र सातै प्रदेशमा सरकार बनाउने हैसियत छ : पृथ्वीसुब्बा गुरुङ


काठमाडौं, मंसिर १६ । नेकपा एमालेका उपमहासचिव एवं प्रचार तथा प्रकाशन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले निर्वाचनबाट सोचेजस्तो परिणाम नआए पनि संघ र ७ वटै प्रदेशमा सरकार बनाउने एमालेको हैसियत कायम भएको बताउनु भएको छ ।

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकोमा बधाई दिन प्रेस चौतारी नेपालले आज काठमाडौंमा आयोजना गरेको बधाई कार्यक्रममामा सहभागी हुँदै उहाँले यस्तो बताउनु भएको हो । उपमहासचिव गुरुङले अव एमालेकै नेतृत्वमा सरकार बनाउने काममा लाग्नुपर्ने तथ्यसमेत औल्याउनु भएको छ ।

उपमहासचिव गुरुङले मुलुकका लागि निकं महंगो सावित भएको सत्तारुढ दक्षिणपन्थी गठबन्धनलाई तोडेर वामपन्थी शक्तिलाई एकजुट बनाउँदै एमालेले आफ्नै पार्टीको नेतृत्वमा सरकार बनाउनका लागि पहलकदमी लिनुपर्ने आवश्यकता औल्याउनु भयो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमै पुनः सरकार बन्ने कुप्रचारलाई तोडन आवश्यक रहेकोपनि बताउनुभयो ।

‘मुलुकमा प्राप्त उपलब्धिलाई रक्षा गर्नका लागि, मुलुकको स्वाधिनतामाथि धावा बोल्ने कामलाई रोक्नका लागि एमाले नेतृत्वमा सरकार बन्नुपर्छ, यो दक्षिणपन्थी गठबन्धनले मुलुकलाई बर्वादीतिर लैजान्छ, एमालेले यस्तो काम हुन दिनुहुन्न,’ उपमहासचिव गुरुङले भन्नुभयो । संघ र सात वटै प्रदेशमा एमाले सरकार बनाउन सक्ने हैसियतमा रहेकोले सत्ता गठबन्धनलाई वाकओभर नदिने पनि बताउनुभयो ।

‘लिडरसिपको कुरा गर्ने हो भने एमालेको लिडरसिप सवैभन्दा उत्कृष्ट हुनुहुन्छ, केपी ओलीको जस्तो भिजन र काम गर्ने जाँगर अनि इमान्दारिता अरुसँग छैन, यस्तो बेला देउवाकै नेतृत्वमो सरकार भन्ने भयो भनेर जसरी कुप्रचार भइराखेको छ, त्यसलाई तोडनु पर्छ, मुलुक बर्वाद पार्ने दिशामा जान दिनहुन्न भन्ने सच्चाइलाई सवैले आत्मसाथ गर्न जरुरी छ,’ उपमहासचिव गुरुङले भन्नुभयो ।

उहाँले थप्नुभयो, ‘म फेरि पनि भन्छु–नेकपा एमाले नेतृत्वको सरकार बनाउने काममा हामी लाग्नु पर्छ । अहिले जोडतोडले दुष्प्रचार भइराखेको छ, कुप्रचार भएको छ कि अब शेरबहादुर नै प्रधानमन्त्री भनिराख्या छ । प्रधानमन्त्री को होला, त्यो बेग्लै कुरा हो । तर हामीले सकारात्मक सोच भएका शक्तिहरुबीच सरकार बनाउनु पर्छ । यो दक्षिणपन्थी गठबन्धनलाई तोडिएन भने मुलुकमाथि आईरहेका जोखिमका कुराहरु, राष्ट्रिय स्वाधिनतामाथि धावा बोलिरहेको जुन स्थिति हो, यसको हामीले अन्त्य गर्न सक्दैनौं । त्यसकारणले राष्ट्रिय स्वाधिनताका पक्षधर शक्तिहरु सबैलाई हामीले एकजुट बनाउनु पर्दछ । त्यो दायित्व हामीसँग छ ।’

एमाले उपमहासचिव गुरुङले चुनावमा आफूहरुले अपेक्षा गरेअनुसार परिणाम नआए पछि पराजीत पनि नभएको बताउनु भयो । ‘एमालेले हारेको छैन, हामीले १५० भनेको थियौं । प्रत्यक्षमा ७१ देखि १ सय सिटको हाराहारीमा ल्याउन सकिन्छ भन्ने हाम्रो अपेक्षा थियो तर परिणाम तलमाथि भयो, यत्रो घेरावन्दीका बीच पनि यो परिणाम आयो, जितेका छौं भन्यो भने बहुमत आएन, हारेको पनि छैनौं, यो सच्चाइलाई आत्मसाथ गरेर मुलुक निर्माणको दिशा र आफ्ना कमीकमजोरीतर्फ पनि समिक्षा गर्न सकिन्छ,’ गुरुङले भन्नुभयो । उहाँले चुनावमा एमालेबिरुद्ध ठूलै षडयन्त्र भए पनि जनताको बलमा चिरेर अघि बढेको बताउनु भयो ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य तथा प्रचार बिभाग उपप्रमुख विष्णु रिजालले एमालेले जनताको मतका आधारमा परीक्षामा सफल भएको र प्रतिक्रियावादीको षडयन्त्र चकनाचुर पारेको बताउनु भयो । ‘एमाले हारेको छैन, परिणाममा केही तलमाथि मात्र भएको हो तर दुनियाँसामू एमालेलाई हराउन सक्ने ताकत छैन भन्ने प्रमाणित यो निर्वाचनले गरेको छ,’ रिजालले भन्नुभयो ।