जनता टाइम्स

१८ मंसिर २०७९, आईतवार १६:५४

प्रदेश १ मा एमाले गठबन्धनको बहुमत, मुख्यमन्त्रीका दावेदार हिक्मत कार्कीले अघि बढाए गृहकार्य


बिराटनगर, मंसिर १८ । प्रदेश नम्बर १ मा नेकपा एमाले नेतृत्वको गठबन्धनको बहुमत पुग्ने देखिएको छ । ९३ सदस्यीय प्रदेशसभामा ५६ जना प्रत्यक्ष निर्वाचित र ३७ जना समानुपातिकतर्फबाट निर्वाचित हुने प्रदेश १ मा सरकार गठनका लागि ४७ जना सांसद आवश्यक पर्छ ।

समानुपातिकतर्फको मत गणना सकिँदा एमाले, राप्रपा र जनता समाजवादी पार्टी (जसपा) गठबन्धनको सिट संख्या ४७ सांसद पुगेको देखिएको छ । प्रदेशसभामा सबभन्दा ठूलो दल बनेको नेकपा एमालेले प्रत्यक्षतर्फ २५ सिट जितेको छ भने समानुपातिकतर्फ ६ लाख ६५ हजार ४६० मत पाएको छ । यस मतअनुसार एमालेले समानुपातिकतर्फ १५ सिट पाउने देखिएको छ । अब सरकार बनाउन एमालेलाई थप ७ सांसद आवश्यक पर्छ ।

प्रत्यक्षमा २ सिट जितेको राप्रपाले समानुपातिकतर्फ ४ सिट पाउने देखिएको छ । प्रत्यक्षतर्फ सिट नजितेपनि जसपाले समानुपातिक मतका आधारमा एक सिट पाउने सम्भावना रहेको छ । जसपाले धोका नदिएको अवस्थामा प्रदेश १ मा एमाले नेतृत्वको सरकार बन्ने निश्चित देखिएको छ । प्रदेश १ मा समानुपातिकतर्फ १८ लाख ९९ हजार १४४ सदर भएको छ । जसमा एमालेले सबभन्दा धेरै ६ लाख ६५ हजार ४६० मत पाएको छ ।

नेपाली कांग्रेसले ५ लाख ६२ हजार ९५६, राप्रपाले १ लाख ९८ हजार ५११ मत पाएको छ । माओवादी केन्द्रले १ लाख ८१ हजार २४५, जनता समाजवादी पार्टीले ६१ हजार ७२३ र नेकपा एकीकृत समाजवादीले ५५ हजार ९५७ मत पाएको छ ।

आयोगले घोषणा नगरेपनि प्राप्त मतका आधारमा सेन्टर लक विधिबाट हिसाब गर्दा नेकपा एमालेले १५ सिट पाउनेछ । नेपाली कांग्रेसले १२,नेकपा माओवादी केन्द्रले ४, राप्रपाले ४, जनता जसपा र एकीकृत समाजवादीले समान १–१ सिट पाउनेछन् । समानुपातिक र प्रत्यक्षसहित प्रदेश १ मा एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रको १३, राप्रपाको ६, एकीकृत समाजवादी पार्टीको ४ र जसपाको १ सिट पुग्नेछ ।

यही अंकगणितका आधारमा एमाले स्थायी कमिटी सदस्य हिक्मत कार्कीले सरकार गठनका लागि पहलकदमी अघि बढाउनु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निर्वाचित हुनुभएको झापा क्षेत्र नम्बर ५ को प्रदेशसभा क बाट कार्की निर्वाचित हुनुभएको हो ।

अघिल्लो सरकारमा आन्तरिक मामिला मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका कार्की नै एमालेबाट प्रदेश १ मा मुख्यमन्त्री बन्ने लगभग निश्चित जस्तै छ । बहुमत जुट्ने अवस्था आएपछि एमालेबाट मुख्यमन्त्रीका दाबेदार कार्कीले छलफल र भेटघाट तीव्र बनाउनु भएको हो ।

एमाले नेता कार्कीले प्रदेश १ मा आफूहरुको बहुमत पुग्ने बताउनु भएको छ । जनताटाइम्स डटकमसँगको कुराकानीमा कार्कीले गठबन्धन नटुटने र बहुमत पुग्ने बताउनु भयो ।

‘हाम्रो बहुमत पुग्छ, चुनावअघिको गठबन्धन पनि टुट्दैन, त्यसैका आधारमा हामी सरकार गठनका लागि पहलकदमी अघि बढाइरहेका छौं,’ कार्कीले भन्नुभयो । मुख्यमन्त्रीका दावेदार कार्कीले केही दिनअघि काठमाडौं आएर एमाले अध्यक्ष केपी शर्मा ओलीसँगसमेत यस बिषयमा छलफल गरिसक्नु भएको छ ।