जनता टाइम्स

२३ श्रावण २०७६, बिहीबार १८:१४

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य, आइतवार स्वदेश फर्कदै


काठमाडौं, साउन २३ । नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री केपी शर्मा ओली आइतवार स्वदेश फर्कनु हुनेभएको छ । स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको तर बिस्तृत रिपोर्ट नआइसकेको कारण आइतवार मात्रै स्वदेश फर्कुन हुने भएको हो ।

प्रधानमन्त्री आइतवार दिउसो स्वदेश फर्कनुहुनेछ, स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएको जानकारी छ,’ प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले भन्नुभयो । अयालका अनुसार शनिवार साँझसम्म परीक्षणको बिस्तृत रिपोर्ट प्राप्त हुने भएकोले प्रधानमन्त्री ओली आइतवार थाइ एअरको उडानबाट काठमाडौं आइपुग्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री ओली गत साउन १८ गते नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गर्नुभएको थियो । दैनिक १८ घण्टा भन्दा बढी कामको कारण धपेडी बढनुका साथै नियमित परीक्षणको समयसमेत नाघेपछि चिकित्सकको दवावमा प्रधानमन्त्री ओली सिंगापुर जानुभएको हो ।

प्रधानमन्त्री ओलीको साथमा पत्नी राधिका शाक्य, निजी चिकित्सक दिब्यासिंह शाह, मुख्य सल्लाहकार बिष्णु रिमाल, जनसम्पर्क सल्लाहकार अच्यूत मैनाली र स्वकीय सचिव राजेश बज्राचार्य तथा सुरक्षाकर्मीहरु रहेका छन ।