जनता टाइम्स

२१ मंसिर २०७९, बुधबार ०६:३०

स्विट्जरल्यान्डलाई ६-१ ले हराउँदै पोर्चुगल क्वार्टरफाइनलमा, रामोसको ह्याट्रिक


काठमाडौं, मंसिर २१ । गोन्कालो रामोसको ह्याट्रिकप्रेििरत पोर्चुगलले अन्तिम १६ मा स्विट्जरल्यान्डलाई ६–१ को नतिजामा पराजित गर्दै कतारमा जारी फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ। लुसेल रंगशालामा भएको खेलमा सहज जित निकाल्दै पोर्चुगल १६ वर्षपछि क्वार्टरफाइनलमा पुगेको हो।

रामोसले १७औं मिनेटमा गोल गर्दै पोर्चुगललाई अग्रता दिलाएका थिए। क्रिस्टियानो रोनाल्डो पहिलो रोजाईमा नपरेपछि कप्तानी सम्हालेका पेपेले ३३औं मिनेटमा गरेको गोलसँगै पोर्चुगलले पहिलो हाफमा २–० को अग्रता लिएको थियो।

दोस्रो हाफमा थप आक्रामक बनेको पोर्चुगलले चार गोल थप्दा एक गोल खान पुग्यो। रामोसले ५१औं मिनेटमा व्यक्तिगता दोस्रो गोल गर्दै पोर्चुगलको अग्रता ३–० मा लम्ब्याएका थिए।

त्यसको चार मिनेट नबित्दै राफाएल गुरेरो पोर्चुगलको अग्रता ४–० मा पुर्याएका थिए। स्विट्जरल्यान्डका लागि म्यानुएल अकान्जीले ५८औं मिनेटमा एक गोल फर्काएका थिए।

रामोसले ६७औं मिनेटमा ह्याट्रिक गरेका थिए। स्विट्जरल्यान्डमाथि हाबी बनेको पोर्चुगलका लागि राफाएल लियोले इन्जुरी समयमा छैटौं गोल गरेका थिए।

सन् २००६ मा जर्मनीमा भएको विश्वकपको सेमिफाइनलसम्म पुगेको पोर्चुगलले जारी संस्करणको अन्तिम चारमा पुग्न अफ्रिकी मुलुक मोरक्कोसँग खेल्ने छ। मोरक्को मंगलबार राति नै भएको खेलमा स्पेनलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अन्तिम आठमा पुगेको हो।