जनता टाइम्स

२४ श्रावण २०७६, शुक्रबार ०८:१७

किन भइरहेछ इश्वर पोखरेलबिरुद्ध यति धेरै अफवाह ?


राधाकृष्ण देउजा

निजि वा समुहगत आग्रह पूर्वाग्रहकै आधारमा सत्य तथ्यलाई तोडमरोड गरेर कसैको इतिहासको समेत उपेक्षा गरेर निजको व्यक्तित्व माथि प्रहार गर्ने कार्य कुनै हालतमा पनि सही ठहर हुन्सक्दैन । अहिले बिभिन्न संचार माध्यमहरुमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल निर्मल निवास गएको भन्ने विषयमा ठुलो चर्चा परिचर्चा गरिने मात्रै नभएर उहाँ त्यहाँ गएर पूर्वराजा ज्ञानेन्द्र शाहसँग वार्ता गर्दै राजतन्त्र फर्काउने काममै पो लाग्न लागेको पो हो कि भन्ने ढंगले प्रचार भैरहेको छ । त्यस्तो चर्चा राजतन्त्रका पक्षधरहरुले आफ्नो मन शान्तीको खातिर गरेको भए त स्वाभाविक पनि देखिन्थ्यो होला । तर त्यस्तो हल्ला र कुप्रचारको श्रंखलामा ईश्वर पोखरेल, उहाँको गणतन्त्र प्रतिको चट्टानी अडान र निरङ्कुश शाही शासनका अनेकन स्वरूपहरु प्रकट हुँदा उहाँले भोगेका प्रताडनाहरु समेतको बारेमा जानकारहरु पनि देखिनु चाहिं अलिक अमिल्दो देखियो ।

रक्षा मन्त्रालय सम्हाली रहनु भएको ईश्वर पोखरेल नेपाल ट्रष्टको अध्यक्ष समेत हुनुहुन्छ र त्यही जिम्मेवारी निर्वाह गर्ने क्रममा तत्कालिन राजा विरेन्द्रको रहेको र अव नेपाल सरकारको हुनेवाला सम्पत्तिमध्य पर्ने जग्गाहरु खोज्ने सिलसिलामा मात्रै उहाँ निर्मल निवासको पछाडि पुगेको तथ्यहरुलार्इ व्यवास्ता गर्दै आएका अफवाहयुक्त समाचारहरुको पछाडी लाग्दै ईश्वर पोखरेललाइ गणतन्त्रको विरुद्ध प्रतिगामीहरुसंग साँठगाँठमा लागेको ढंगले बुझ्ने वा वुझाउने दुवै कार्यहरु बेठीक हुन । राजनीतिमा ईश्वर पोखरेलसंग प्रतिस्पर्धा हुनसक्ला, उहाँको पक्ष वा विपक्षमा उभिन पनि पाइनेनै भयो र विपक्षमा खडा हुँदा उहाँमा भए रहेका केही कमजोरीहरु छन भने त्यसमा टेकेर उहाँको खिलाफमा अभिमत निर्माण गर्न पनि पाइन्छ । तर लोकतन्त्रको पक्षमा दृढता पुर्वक खडा हुँदा निरङ्कुश प्रतिगामीहरुको व्यापक प्रहार सहँदै यहाँसम्म पुगेको एउटा सच्चा गणतन्त्रवादीलाइ प्रतिगामीहरुसंग सम्पर्कको निम्ती खटीएको पात्र जसरी बुझाउँदा पापनै लाग्नेछ ।

अरु को त कुरा छोडौँ कमसेकम नेकपाका कार्यकर्ताहरुले चाहिं ईश्वर पोखरेल वा अरु कोही नेताहरुको बारेमा आएका नियोजित, प्रायोजित र दुराग्रहसहितको समाचारहरुकै भरमा अभिव्यक्ति दिनु भन्दा अगाडि उहाँको विगतको अध्ययन, अनुसन्धान र त्यसको विश्लेषण गर्नुपर्छ । त्यस्तो गरिने वित्तिकै अनेकन भिन्नताहरु विद्धमान रहेकाहरुको विचमा पनि एउटा साझा बुझाई चाहिं निर्माण हुनेछ र त्यो भनेको ईश्वर पोखरेल गणतन्त्रको उपप्रधानमन्त्री रहँदा त राजतन्त्रको पक्षधर हुने त कुरै भएन नै , उहाँको लोकतान्त्रिक गणतन्त्र प्रतिको समर्पण निरंकुशताको काल कोठारीमा रहँदा पनि कम्जोर हुनेछैन ।

अनि अर्को कुरा मानौ कि निर्मल निवास गएर उहाँले पुर्व राजा ज्ञानेन्द्रलाइ भेटनु नै भएको रहेछ भने त्यस कार्यले गणतन्त्रकै प्रवर्धन गर्दछ किनकि निर्मल निवास काठमाडौंको जुन क्षेत्रमा पर्छ, त्यो ईश्वर पोखरेलको निर्वाचन क्षेत्रमा पर्छ । त्यसो हुँदा ज्ञानेन्द्र शाह ईश्वर पोखरेलको क्षेत्रमा बस्ने नेपाली नागरिक हुन । जस्लाइ उनको क्षेत्रको साँसदले गएर के छ ? कसो छ भन्ने अवस्था भएको रहेछ भने पनि गणतन्त्रको वर्खिलाफ हैन, पक्षपोषणनै भएको हुन्छ ।