जनता टाइम्स

२४ मंसिर २०७९, शनिबार १८:०५

एमालेले निष्काशन गर्यो घनश्याम–प्रभुसहित यी नेता


काठमाडौं, मंसिर २४ । नेकपा एमालेले चुनावमा पार्टीबिरुद्ध गद्धारी गर्ने नेताहरुलाई कार्वाही गरी हटाएको छ । आज बसेको सचिवालय बैठकले स्थायी कमिटी सदस्यद्वय घनश्याम भुसाल, प्रभु साहसहितका नेताहरुलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै भुसाल र साहलाई पार्टी स्थायी कमिटी सदस्य नरहने गरी कारबाही गर्ने निर्णय गरेको हो ।

बैठकपछि उपमहासचिव एवं केन्द्रीय प्रचार बिभागका प्रमुख पृथ्वीसुब्बा गुरुङले दिनुभएको जानकारीअनुसार केन्द्रीय कमिटीका सदस्यहरु उपेन्द्र साह, कुन्दन कुशवाह, रामप्रित राम, बद्री न्यौपाने, रिता साह, गंगा चौधरी र टेकबहादुर बलाम्पाकीलाई पनि निश्काशन गरिएको छ ।

एमालेले चुनावमा पार्टीविरोधी गतिविधिमा संलग्न भएको भन्दै पार्टीको केन्द्रीय निकायमा रहेका वाङ्दे शेर्पा, खेम सुवेदी, भक्तबहादुर अधिकारी, लक्ष्मी साहलाई पनि हटाएको छ ।

चुनावमा पार्टीविरोधी गतिविधिमा लागेको आरोपमा जैतुन खातुनलाई प्रतिनिधिसभाको समानुपातिकतर्फको सूचीबाट हटाउने काम पनि गरिएको प्रचार विभाग प्रमुख गुरुङले बताउनु भयो ।