जनता टाइम्स

२५ मंसिर २०७९, आईतवार ०९:४०

प्रतिनिधिसभामा तीन जोडी : एक जोडी प्रत्यक्षबाटै निर्वाचित, समानुपातिकबाट छिरे दुई नेताका पत्नी


काठमाडौं, मंसिर २५ । प्रतिनिधिसमामा प्रत्यक्ष र समानपातिकतर्फबाट तीन जना पति पत्नी नै सांसद भएका छन । एक जोडी एउटै जिल्लाबाट प्रत्यक्षतर्फ चुनाव जितेर प्रतिनिधिसभामा छिरेका हुन भने दुई जोडी प्रत्यक्षमा पति र समानुपातिमा पत्नी चयन भएर प्रतिनिधिसभामा रेकर्ड कायम गरेका हुन ।

आरक्षणका लागि राखिएको समानुपातिकमा पत्नीलाई छानेर इतिहास कायम गर्नेमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पर्नुभएको छ । आफै सभापति रहेकोले आरक्षणमा पत्नी आरजु राणा देउवालाई समानुपातिकबाट सांसद बनाउनु भएको हो ।

गृहमन्त्री बालकृष्ण खाण चुनाव हारेपछि देउवाकै जस्तो रेकर्ड भने बनाउन पाउनु भएन । उहाँले पनि आरक्षणका लागि राखिएको समानुपातिकको दुरुपयोग गर्दै पत्नी मञ्जु खाणलाई प्रतिनिधिसभामा पठाउनु भएको छ ।

यस्तै पतिपत्नी नै प्रतिनिधिसभा सदस्य हुनेमा जसपाका बरिष्ठ नेता अशोक राई पर्नुभएको छ । सुनसरी १ बाट प्रत्यक्षमा निर्वाचित राईकी पत्नी सुशिला श्रेष्ठ समानुपातिकबाट सांसद बन्नुभएको छ ।

एमाले सचिव रघुबीर महासेठ र पोलिटब्यूरो सदस्य जुलीकुमारी महतोको जोडी भने प्रत्यक्षमै चुनाव जित्ने एक मात्र जोडी बनेको छ । उहाँहरु दुवै जनाले धनुषाबाट प्रत्यक्षमा चुनाव जितेर प्रतिनिधिसमा सदस्य बन्नुभएको हो ।