काठमाडौं, मंसिर २५ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताका लागि तीन सर्त राख्नुभएको छ ।
गत भदौंमै चुनावपछि माओवादीसँग एकता गर्न समन्वय समिति गठन गरेको नेकपा एकीकृत समाजवादीले चुनावको परिणामलगत्तै नेता–कार्यकर्ता बिपक्षमा उभिएपछि एकता सर्त अघि बढाएको हो । एउटा टेलिभिजनसँगको कुराकानीमा नेकपा एसका अध्यक्ष नेपालले एकताका लागि छलफल भइरहेको भए पनि तत्काल संभावना नरहेको बताउनु भयो ।
बरिष्ठ नेता मुकुन्द्र न्यौपानेले माओवादीसँगको एकता गरे आफू नजाने सार्वजनिक घोषणा गरेपछि महासचिव बेदुराम भुसालले पार्टी निर्णय भइसकेको भए पनि माओवादीसँगको एकता गर्ने निर्णय नभएको बिज्ञप्ती नै जारी गर्नुभएको थियो । चुनावमा राष्ट्रिय दल नबनेको नेकपा एसलाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सांसदसहित सवै नेता–कार्यकर्ताहरु ढिला गर्दा एमालेतिर लाग्छन भन्दै एकताका लागि फकाइरहनु भएको छ । तर माधवले एकताका लागि राखेको तीन सर्त भने निकै कडा रहेको छ ।
अध्यक्ष नेपालले माओवादीसँग एकताका लागि पहिलो सर्तका रुपमा नेकपा माओवादी केन्द्र भन्ने पार्टीको नाम नै फर्नुपर्ने बताउनु भएको छ । यस्तै दोस्रो सर्त माओवादीको चुनाव चिन्ह फेर्नुपर्ने रहेको छ भने तेस्रो सर्त नेकपाकालिन बिचार र नयाँ चिन्ह रहेको छ । माधवले ब्यक्त नगरे पनि चौथो सर्त प्रचण्ड र आफू दुवै जना अध्यक्ष हुने र अधिकार बरावर र समान हैसियतको रहनुपर्ने रहेको छ ।
नेपालले चुनाव आफ्नो पार्टीको लागि अकल्पनीय बनेको स्वीकारोक्ति पनि गर्नुभएको छ । उहाँले अहिले आएको परिणामको कल्पनासमेत नगरेको र यस्तो अवस्था आउने कल्पना समेत नगरेको बताउनु भएको छ ।
नेपाली कांग्रेसको नेतृत्वमा पाँच दलीय गठबन्धन बनाएर चुनावमा होमिएको नेकपा एसले प्रत्यक्षतर्फ प्रतिनिधिसभामा १० सिट जितेको छ भने समानुपातिकमा थ्रेसहोल्ड कटाउन नसकी राष्ट्रिय दलको मान्यता पाउनबाटै चुकेको छ । केही प्रदेशमा भने समानुपातिक सांसद पाएको छ । दुई जना पूर्वप्रधानमन्त्री र एमालेमा झण्डै ३३ बर्ष शासन गरेका नेताले बिभाजन गरेको पार्टी राष्ट्रिय बन्न नसकी साना दलका नेतामा परिणत भएपछि नेपालको यस्तो स्वीकारोक्ति आएको हो ।












प्रतिक्रिया दिनुहोस्