जनता टाइम्स

२५ मंसिर २०७९, आईतवार १८:४३

प्रचण्डको बटमलाइन : पहिलो कार्यकालकै प्रधानमन्त्री


काठमाडौं, मंसिर २५ । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अवको प्रधानमन्त्री आफू हुनुपर्ने अडानसहित पार्टी नेता र गठबन्धनका नेताहरुसँग छलफल अघि बढाउनु भएको छ ।

चुनावको परिणाम आएलगत्तै सत्ता गठबन्धनका नेता कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवासँग आफूलाई पहिलो कार्यकालको प्रधानमन्त्री छाडन आग्रह गरिरहनु भएका प्रचण्डको प्रस्ताव सुनुवाई नभएपछि प्रचण्ड अर्काे गृहकार्यमा लाग्नुभएको हो ।

निर्वाचनमा दोस्रो ठूलो दल बनेको नेकपा एमालेले सरकार गठनमा खासै चासो नदेखाएपछि प्रचण्डले देउवामाथि दवाव बढाउनु भएको तर देउवाले प्रधानमन्त्री नछाडने अडान लिएपछि अर्काे बाटोतिर गृहकार्य अघि बढाउनु भएको खुमलटार स्रोतको भनाई छ । खुमलटार स्रोतका अनुसार प्रचण्डले आफूलाई पहिलो कार्यकालको प्रधानमन्त्रीलाई बटमलाइन बनाउनु भएको छ ।

प्रधानमन्त्री बन्ने अभियानकै क्रममा माओवादी अध्यक्ष प्रचण्डले सम्भावित सत्ता समिकरणबारे पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पूर्वसभामुख अग्नि सापकोटा, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्र राय यादवसँग छलफल गर्नुभएको छ । प्रचण्ड सकेसम्म वर्तमान सत्ता गठबन्धनको समर्थनमा प्रधानमन्त्री बन्ने, नत्र अर्काे बाटोबाट प्रधानमन्त्री बन्ने मनस्थितिमा पुगेको भेटमा संलग्न एक नेताको भनाई छ ।

मंसिर १९ गते बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले वर्तमान गठबन्धनबाट सरकार बनाउने निर्णय गरेको छ । तर गठबन्धनमा देउवा कि प्रचण्ड भन्ने बिषय निकै पेचिलो बन्दै गएको छ । देउवालाई प्रधानमन्त्री छाडेर सत्ता गठबन्धन कायम नरहने निर्णय कांग्रेस पदाधिकारीले सुनाइसकेका छन ।

यही तथ्य बुझेर प्रचण्डसहितका नेताहरु माओवादी केन्द्रकै नेतृत्वमा सरकार बनाउने गरी भेटघाट तीब्र पार्नुभएको छ । नेपाल समाजवादी पार्टीको अध्यक्षसमेत रहेका यादव माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचित भएका हुन्। उनी कांग्रेससँग लोसपाले गठनबन्धन गरेको लोसपाका राजेन्द्र महतोलाई पराजित गर्दै सर्लाही क्षेत्र नं २ मा यादव प्रतिनिधि सभा सदस्य बन्नुभएको हो ।

अध्यक्ष प्रचण्डले बिहीबार बिहान स्वतन्त्रबाट निर्वाचित सांसद प्रभु शाहसँग पनि भेट गर्नुभएको थियो । यस्तै प्रचण्डले जेलमा रहेका रेशम चौधरी, जनमत पार्टीका अध्यक्ष एवम् सांसद सिके राउतसँग पनि भेटवार्ता गरिसक्नु भएको छ ।