जनता टाइम्स

२६ मंसिर २०७९, सोमबार १२:२५

अध्यादेश राजनीतिक निर्लज्जताको पराकाष्ठा हो तत्काल फिर्ता हुनुपर्छ : रवि लामिछाने


काठमाडौं, मंसिर २६ । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मुलुकी फौजदारी कार्यविधि संशोधनका लागि ल्याउन लागिएको अध्यादेश तत्काल फिर्ता हुनुपर्ने बताउनु भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले टीकापुर घटनाका दोषी रेशम चौधरीदेखि जिउँदै मान्छे जलाउने मो. अफ्ताव आलमसम्मलाई जेलमुक्त गरी नयाँ सत्ता समिकरण बनाउन अध्यादेश ल्याउने निर्णय गरेपछि लामिछानेले यस्तो बताउनु भएको हो ।

सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै लामिछानेले सरकारको यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा भएको बताउनु भएको छ । यो अध्यादेशले जनादेशको मर्म र नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको रविको भनाइ छ ।

‘अब नयाँ संसदको बैठक बस्न कति समय लाग्ला ? १ हप्ता ? २ हप्ता ? ३ हप्ता ? त्यस्तो के आपत्काल लागेको थियो र १(२ हप्तापनि कुर्न नसकिने ? यो अध्यादेशले नयाँ जनादेशको मर्म मिचेको छ, नयाँ संसदको अधिकार मिच्ने प्रयास भएको छ । यो कदम राजनीतिक निर्लज्जताको पराकाष्ठा हो । यो तत्काल फिर्ता हुनपर्छ’, लामिछानेले भन्नुभएको छ ।