जनता टाइम्स

२८ मंसिर २०७९, बुधबार १२:५१

ओली निवासमा माओवादी महासचिव पुगेपछि


काठमाडौं, मंसिर २८ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार गठनको बिषयमा एमालेलाई रुची नरहेको प्रष्ट पार्नुभएको छ ।

आफ्नै निवासमा भेटन आउनु भएका नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङसँगको छलफलमा अध्यक्ष ओलीले सत्ता गठबन्धन सरकार गठनमा अग्रसर भएको र जनमतको आधारमा आफूहरु बिपक्षीमा रहने भन्दै ओलीले सरकार गठनमा रुची नरहेको बताउनु भएको हो ।
माओवादी महासचिव गुरुङ मंगलवार साँझ एमाले अध्यक्ष ओलीको बालकोटस्थित निवास पुग्नुभएको थियो । सो भेटमा ओलीले एमाले स्थीरताको पक्षमा रहेको र सत्ताका लागि जेसुकै गर्ने काम स्वीकार्य नभएको बताउनु भएको छ । माओवादी महासचिव गुरुङले पनि ओलीसँगको भेटमा बधाई दिने काम गरेको तर सरकार गठनको बिषयमा कुरा नभएको प्रष्ट पार्नुभएको छ ।

बधाइ दिन गए पनि बाहिर भने सरकार गठनकै बिषयमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको दुत बनेर महासचिव गुरुङ जानुभएको भन्दै प्रचार भएको छ । यद्यपी छलफलमा गुरुङले एउटै पार्टीको अध्यक्ष रहेर सहकार्य गरिसकेको अवस्थामा नेकपा बिभाजनको दोष एक अर्कामाथि थोपरेर तिक्ततापुर्ण सम्बन्ध यथावत राख्न नहुनेमा जाड दिनुभएको थियो ।

ओलीले भने बिभाजनको काम ‘आफूले नभई साथीहरु (प्रचण्ड–माधव) कै सुनियोजित योजनामा भएको’ बताउनु भएको स्रोतले जनताटाइम्स डटकमलाई बतायो । अध्यक्षले बिभाजन आफूले नभइ कम्युनिष्ट पार्टी बिरुद्ध योजना बनाउनेहरुले गरेको प्रष्ट पार्नुभयो,’ भेटबारे नेकपा एमालेका एक नेताले भने । यस्तै ओलीले गठबन्धन भनाएर चुनाव लडेपछि सोही गठबन्धनबाट बिकल्प खोज्नुपर्ने एमालेको प्रष्ट मान्यता रहेको पनि सुनाउनु भएको छ ।