काठमाडौं, पुस २ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावको परिणामले राजनीतिक बजारलाई महँगो पारेको र थप अस्थिरता उत्पन्न गरेको बताउनु भएको छ ।
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका एमाले अध्यक्ष ओलीले चुनावी परिणामले थप चिन्ता जन्माएको पनि बताउनु भयो । अध्यक्ष ओलीले जनतालाई सही दिशामा डोर्याउन नसक्दा चुनावले गलत नतिजा दिएको आफ्नो निश्कर्ष सुनाउनु भयो । उहाँले जनतालाई सचेत गराउन नसक्नु प्रमुख दलको नेताको हैसियतले आफ्नो पनि कमजोरी रहेको धारणासमेत राख्नुभयो ।

‘जनतालाई सचेत गराउन नसक्नु, सही दिशामा लैजान नसक्नु प्रमुख दलको नेताको हैसियतले मेरो पनि कमजोरी स्वीकार गर्छु,’ नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले शनिवार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘अब कस्तो सरकार बन्छ भन्ने म ५८ वर्ष राजनीति गरेको मान्छेले भन्न नसक्ने अवस्था छ । अहिले सबैभन्दा चर्को महँगी कतै छ भने पोलिटिकल बजारमा छ । पोलिटिकल भाउ चर्को छ, यसले स्थिरता दिँदैन ।’
अध्यक्ष ओलीले सत्ता गठबन्धनले आफ्नो संख्या नपुगेर थप अरू दल खोजेर झन् ठूलो गठबन्धन बनाउन खोजे पनि त्यसको आकार प्रष्ट हुन सनेकेको उहाँको भनाई छ । एमाले अध्यक्ष ओलीले नेपाली भाषा र संस्कृतिलाई नेपालीबाटै भइरहेको प्रहारप्रति तिखो आलोचना गर्नुभयो ।
‘संस्कृतिले चिनिने हो नेपाली भनेको । संस्कृतिभित्र कला, मूतिकला, चित्रकलादेखि लिएर सवै कला पर्छन । अलिकति मन्दिरको आकारले इतिहास खोज्छ । कुनखालको मन्दिर ? यो हाम्रो संस्कृति, नेपाली संस्कृति जुन छ, त्यो बिचित्रसंग हराएको छ । भाषा, हामी कसैलाई सम्मान गर्दैनौं । आज हामी यहाँ सम्मानपुर्वक सुन्दा यस्तो भाषा छ भन्ने थाह हुन्छ । पत्रिकामा हेर्दा बिद्धवान सम्पादक महोदय लेख्नुहुन्छ, प्रधानमन्त्री देउवाले यस भने भनेर लेख्नुहुन्छ । प्रधानमन्त्री देउवाले भन्नुभयो भन्ने लेख्दैन । हामी अंग्रेजी भाषाको ‘यू’ को रुपान्तरण गरेर तिमि भन्छ । राष्ट्रपतिले यसो गरिन भनेर लेख्छ । कस्को भाषा हो यो ? नेपाली भाषा होइन यो त ।’ ओलीको भनाई थियो ।
सामाजिक सञ्जाल हेर्नै नहुने अवस्थामा पुगेको पनि ओलीले बताउनु भयो । उहाँले भन्नुभयो, ‘सामाजिक सञ्जाल हेर्नै नहुने भएको छ । मान्छे नांग्र हिडला भन्ने त्रास भयो ।’













प्रतिक्रिया दिनुहोस्