काठमाडौं, पुस ३ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले चौतर्फी घेराबन्दी र आक्रमणलाई चिरेर एमाले जनताको पहिलो पार्टीका रूपमा स्थापित भएको उदघोष गर्नुभएको छ ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३५ औँ स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो उदघोष गर्नुभएको हो ।
महासचिव पोखरेलले समानुपातिकतर्फ कांग्रेसको तुलनामा एमालेले धेरै मत पाएको भन्दै एमाले धेरै जिल्लामा क्लिन स्वीप गर्ने पार्टी बनेको तथ्यसमेत राख्नुभयो । महासचिव पोखरेलले अहिलेको निर्वाचनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध घेराबन्दी गरिए पनि अत्यधिक मत ल्याएर म्यान अफ दी इलेक्सन बनेको बताउनु भयो ।
चौतर्फी घेराबन्दीका बाबजुद एमालेले लोकप्रिय मत पाएकाले राष्ट्रको नेतृत्व गर्न सक्षम रहेको भन्दै महासचिव पोखरेलले स्वभाविक रुपमा एमाले भविष्यमा राष्ट्रको नेतृत्व गर्न सक्षम छ भन्ने कुरामा सफलता हासिल गरेको बताउनु भयो ।
महासचिव पोखरेलले आफ्नो पार्टीलाई सरकार गठनको जनादेश प्राप्त नभएकाले पर्ख र हेरको पक्षमा रहेको पनि बताउनु भयो । उहाँले सत्ता गठबन्धन सरकार गठन नजिक भएपनि अबको प्रधानमन्त्री को भन्न सक्ने अवस्थामा नरहेको बताउनु भयो । महासचिव पोखरेलले सत्ता गठबन्धन राष्ट्रको समस्या र चुनौती सामना गर्ने विषयमा असफल रहेको पनि बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्