जनता टाइम्स

८ पुष २०७९, शुक्रबार १७:५१

विश्वकप फाइनल हेर्दा जोशमा दुईपटक उठेँ : अध्यक्ष ओली


काठमाडौं, ८ पुस । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विश्वकप फाइनल हेर्दा जोशमा आएर आफू दुईपटक उठेको उल्लेख गर्नुभयो । पोखरामा आयोजित लिट्रेचर फेस्टिबलमा उपस्थित ओलीले अखण्ड भण्डारीसँगको कुराकानीमा विश्वकप फाइनल हेर्दाको अनुभव सुनाउनुभएको हो । मध्यराति भएकाले विश्वकप फाइनल हेर्दा आनन्द मिलेको अनुभव सुनाउनुभयो ।

उहाँले फाइनलमा तटस्थ रुपमा अर्जेन्टिनालाई समर्थन गर्नुभएको थियो । विभिन्न विधामा रुची राख्नुहुने उहाँले खेलकुदका नराख्ने कुरै भएन । फुटबलको पनि पारखी उहाँले भन्नुभयो, ‘फाइनल त अति नै रोमाञ्चक थियो । म अर्जेन्टिनाको पक्षमा थिएँ, तर तटस्थ भावका साथ ।’ उहाँले आफू विगतमा फुटबल खेल्ने गरेको र फुटबलका सबै नियमहरु थाहा भएको बताउनुभयो ।

यसपटकको फाइनल हेर्दा आफू पनि जोशमा आएको उहाँको भनाइ छ । उहाँले थप्नुभयो,‘युवा उमेरमा मान्छे छिटो उठ्न सक्छ । यसपटकको फाइनलमा म पनि एक–दुईपल्ट उठेँ ।’ ‘हुन त म उठेको रंगशालामा देखिने होइन । खेलाडीले पनि देख्ने होइनन्,’ उहाँले भन्नुभयो,‘त्यसैले म उठ्नु र नउठ्नुमा दुनियाँलाई कुनै सरोकार हुँदैन । तर, खेलसँग बगेपछि सेन्टिमेन्ट यस्तो हुँदोरहेछ कि आफैं उठिन्छ ।’