जनता टाइम्स

२६ श्रावण २०७६, आईतवार ०९:०४

चिकित्सकको सुझावपछि लम्बियो प्रधानमन्त्री ओलीको सिंगापुर बसाई, भोलि मात्रै स्वदेश फर्कने


काठमाडौं, साउन २६ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई एक दिन लम्बिएको छ । नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर जानुभएका प्रधानमन्त्री ओलीको परीक्षण रिपोर्टको बिस्तृत बिवरण नआएपछि आज स्वदेश फर्कने कार्यक्रम स्थगित भएको हो ।

प्रधानमन्त्री ओली भोलि सोमवार दिउसो थाइ एअरको नियमित उडानमार्फत काठमाडौं आइपुग्नुहुने प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जनताटाइम्सलाई जानकारी दिनुभयो । यसअघि प्रधानमन्त्री ओली आज दिउसो स्वदेश फर्कनेकार्यक्रम रहेको थियो । चिकित्सकको सल्लाहमा प्रधानमन्त्री ओली एक दिनथप बसाईमा रहनुभएको हो । स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओली स्वस्थ देखिए पनि मृगौला पत्यारोपनपछिको समग्र पक्षमा परीक्षण गरिएको कारण समय लम्बिएकोहो । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको तर बिस्तृत रिपोर्टले थप परीक्षण महसुस गरिएको हो ।

प्रधानमन्त्री ओली गत साउन १८ गते नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर प्रस्थान गर्नुभएको थियो । दैनिक १८ घण्टा भन्दा बढी कामको कारण धपेडी बढनुका साथै नियमित परीक्षणको समयसमेत नाघेपछि चिकित्सकको दवावमा प्रधानमन्त्री ओली सिंगापुर जानुभएको हो । उहाँलाई काममा धेरै धपेडी नगर्न र नियमित परीक्षणको समय नगुजार्नसमेत चिकित्सकले सुझाएका छन ।

प्रधानमन्त्री ओलीको साथमा पत्नी राधिका शाक्य, निजी चिकित्सक दिब्यासिंह शाह, मुख्य सल्लाहकार बिष्णु रिमाल, जनसम्पर्क सल्लाहकार अच्यूत मैनाली र स्वकीय सचिव राजेश बज्राचार्य तथा सुरक्षाकर्मीहरु रहेका छन ।