जनता टाइम्स

१० पुष २०७९, आईतवार ०९:०९

बिघटनको संघारमा सत्ता गठबन्धन


काठमाडौं, पुस१० । सर्वाेच्च अदालतको परमादेशबाट सरकार गठन भएसँगै निर्माण सत्तारुढ गठबन्धन बिघटनको संघारमा पुगेको छ । नयाँ सरकारमा प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा कि नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ? भन्ने सहमति जुटन नसक्दा सत्ता गठबन्धन विघटनको डिलमा पुगेको छ ।

शनिबार बालुवाटारमा भएको बैठकमा पनि देउवा र दाहाल आ–आफ्नो अडानबाट पछि हटनु भएन । अपराह्न ४ बजे बैठक बोलाइए पनि त्यसअघि नै एकअर्कालाई दबाबमा राख्न दुवै पक्षबाट सन्देश र संकेत आदानप्रदान भइरहे । दिउँसो १२ बजे बालुवाटारमा उपस्थित हुन भनेर कांग्रेस सांसदहरूलाई सूचना गरिएको थियो ।

अपराह्न ४ बजेको गठबन्धन बैठकमा दाहाल पनि वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङलाई लिएर जानुभएको थियो । आफ्नोतर्फबाट उदार हुन नसक्ने मुद्दामा उहाँ गुरुङजस्तै नेताहरूलाई अघि सार्ने गर्नुहुन्छ ।

पार्टीभित्रको दबाबका कारण पनि आफूले यसपालि सरकारको नेतृत्व छाड्न नसक्ने दाहालको दाबी थियो । उता देउवाले पनि पार्टी पंक्तिलाई नै देखाएर पहिलो पालो आफूलाई दिन आग्रह दोहोर्याउनु भएको थियो । ‘ठूलो दलले सरकारको नेतृत्व छाड्न हुन्न भन्ने पार्टीभित्र दबाब छ । छाड्दा पार्टीमा समस्या हुन्छ भन्ने प्रधानमन्त्रीको भनाइ थियो,’ बैठकमा सहभागी एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भन्नुभयो, ‘प्रचण्डजीको बोली पनि त्यस्तै थियो । आफूहरूको सहयोगमा डेढ वर्ष कांग्रेसले सरकार चलाइसकेको अवस्थामा यस पटक माओवादीले नेतृत्व नपाए गठबन्धनमा बस्न पार्टीभित्र समस्या हुन्छ भन्ने उहाँको भनाइ थियो ।’

पाण्डेका अनुसार समझदारीका लागि कोसिस भइरहे पनि प्रस्ट संकेत देखिएको छैन । ‘विवाद भनेको देउवा र दाहालबीच को पहिला प्रधानमन्त्री हुने भन्ने मात्रै हो,’ उहाँले भन्नुभयो, ‘राष्ट्रपति र प्रधानमन्त्री दुवैमा कांग्रेसको अडान यथावत छ, कांग्रेसले राष्ट्रपति लिनैपर्ने हो भने प्रधानमन्त्री छाड्नुपर्छ । दुवै मुख्य पद एउटै पार्टीले लिएर कसरी गठबन्धन कायम हुन्छ ?’

नेताहरू टसमस नभएपछि आज बिहान १० बजे बैठक बोलाइएको छ । गठबन्धनको प्रधानमन्त्रीमा दाबी लिएर आउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको सात दिनको सीमा आइतबार अपराह्न ५ बजे सकिँदै छ । दुवै नेताका अडान हेर्दा तत्काल सहमति हुने सम्भावना निकै कम छ ।

बालुवाटार स्रोतका अनुसार कांग्रेस सभापति देउवाले पहिलोपल्ट सरकारको नेतृत्व लिन दुईवटा विकल्प अघि सार्नुभएको छ । पहिलो विकल्पमा देउवा, दाहाल र एकीकृत समाजवादीका नेता माधवकुमार नेपाल तीनै जनाले आलोपालो सरकारको नेतृत्व गर्ने प्रस्ताव अघि सार्नुभएको छ । कांग्रेस र माओवादीले दुईरदुई वर्ष नेतृत्व लिएर चार वर्षपछि चुनावी सरकारको नेतृत्व नेपाललाई दिने उहाँको प्रस्ताव छ । राष्ट्रपति र सरकारको नेतृत्व दुवै कांग्रेसले पाउने आसमा देउवाले यस्तो प्रस्ताव अघि सार्नुभएको हो ।

माओवादीलाई मनाउन देउवाले दुई विकल्प अघि सार्नुभएको छ । नेपाललाई राष्ट्रपति दिने र माओवादीलाई सभामुख दिने प्रस्ताव उहाँको छ । कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नै देउवाको अडानबाट सन्तुष्ट हुनुहुन्न । उहाँले देउवासँग भनेको संवाद उद्धृत गर्दै एक नेताले भने, ‘कांग्रेसले राष्ट्रपति र प्रधानमन्त्री दुवै पाउने सम्भावना छैन । अहिले माओवादी वा समाजवादीलाई राष्ट्रपति दिएर अढाई वर्षपछि प्रधानमन्त्री दिने र त्यसपछि अढाई वर्ष कांग्रेस पूर्णतः शक्तिबाहिर बस्नु आत्मघाती हुन्छ । त्यसैले अहिले राष्ट्रपति लिने र पछि प्रधानमन्त्री पनि लिने विषय ठीक हो ।’

राष्ट्रपति छाड्नै हुन्न भन्ने आवाज कांग्रेसमा प्रबल देखिन्छ । नेताहरू पौडेल, कृष्णप्रसाद सिटौला, उपसभापति पूर्णबहादुर खड्काले यो विषयमा देउवासँग भनाइ राखिसक्नु भएको छ । पहिलो पालोमै प्रधानमन्त्रीमा दाबी गरिरहँदा राष्ट्रपति, प्रधानमन्त्री, सभामुख र प्रदेशमा सरकारको नेतृत्व सबै गुमाउनुपर्ने हो कि भनेर कांग्रेस नेताहरू चिन्तित छन् ।

सहयोगीहरूका अनुसार देउवाले माओवादीसँग विकल्प साँघुरो भएकाले अन्तिम घडीमा आफूलाई प्रधानमन्त्री स्विकार्छ भन्ने विश्वास गर्नुभएको छ ।