जनता टाइम्स

१० पुष २०७९, आईतवार ०९:४०

काठमाडौंमा ह्वात्तै बढ्यो चिसो, आजको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस मापन


काठमाडौं, पुस १० । काठमाडौं उपत्यकामा आज चिसो ह्वात्तै बढेको छ । आज काठमाडौं उपत्यकामा न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षको अहिलेसम्मकै कम हो ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान पौने ६ बजे गरिएको रेकर्डमा काठमाडौं उपत्यकाको तापक्रम ४.५ डिग्री सेल्सियस मापन भएको छ । यो भनेको यस वर्षको अहिलेसम्मको कम न्यूनतम तापक्रम हो । महाशाखाका अनुसार शनिबार न्यूनतम तापक्रम ५.३ डिग्री सेल्सियस मापन भएको थियो ।

काठमाडौं उपत्यकामा आज बिहान अन्य दिनको तुलनामा बढी चिसो महुसस भएको थियो । मौसमविदका अनुसार काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्ने क्रम रहेको छ ।

अहिले नेपालमा नयाँ मौसमी प्रणाली भने छैन । यद्यपि हिमाली भेगका केही स्थानमा हिमपात हुने सम्भावना छ । सुदूरपश्चिम र कर्णाली प्रदेशमा आज बदली हुने सम्भावना पनि रहेको मौसमविद भट्टराईले बताए ।