जनता टाइम्स

१० पुष २०७९, आईतवार १८:२०

माधवको संगत छाडेर बालकोट फर्किएपछि प्रचण्ड बन्नुभयो प्रधानमन्त्री


काठमाडौं, पुस १० । नेकपा बिभाजनको मुल खलनायक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको साथ छाडेलगत्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्ड प्रधानमन्त्रीको कुर्सीमा पुग्नुभएको छ ।

तात्कालिन नेकपामा केपी ओली र प्रचण्ड फुटाउने माधवको योजनाकै कारण ओलीबाट टाढा हुनुभएका प्रचण्ड बालकोट पुग्नसाथ प्रधानमन्त्री बन्नुभएको हो । प्रचण्डले आज माधव नेपाल सारै कृतघ्न पात्र रहेछन भन्ने निश्कर्ष निकालेर केपी ओली निवास बालकोट पुग्नुभएको थियो ।

प्रचण्ड पुग्नुअगावै ओलीले उहाँको नेतृत्वमा सरकार गठनका लागि राप्रपा, रास्वपा, जसपालाई मिलाएर बहुमत जुटाइसक्नु भएको थियो । नेकपाकालिन समयमा लगाइएको आरोप बालकोट आइपुगेपछि खण्डित भएको र पुस ५ पछिको आरोप पनि सकिएपछि प्रचण्डको प्रधानमन्त्री बन्ने सपना साकार भएको हो ।

प्रचण्डले माधवको उक्साहटमा लागेर नेकपाकालिन समयमा ओलीबिरुद्ध प्रयोग हुनुभएको थियो । साढे २ बर्षको संगतपछि प्रचण्डले माधवलाई चिनेलगत्तै ओलीकै निवासमा पुगेर आफ्नो कमजोरी महसुस गरेपछि ओलीले उदारताका साथ उहाँलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभएको हो ।