सिन्धुपाल्चोक, १० पुस । बाह्रविसे नगरपालिका–६ मान्द्रास्थित गोरखनाथ आधारभूत विद्यालयको व्यवस्थापन समिति गठनमा नगरपालिका कार्यालयले गरेको हस्तक्षेपलाई अभिभावकले अस्वीकार गरेका छन् । नगरपालिकाले राजनीतिक पूर्वाग्रहका आधारमा व्यवस्थापन समिति सदस्य मनोनित गरेपछि असन्तुष्ट भएका अभिभावकको भेलाले नयाँ सदस्यसहित शनिबार व्यवस्थापन समिति गठन गरेको हो ।
बाह्रविसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पाको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले लोप्साङ धुन्दुक शेर्पाको अध्यक्षतामा ९ सदस्यीय व्यवस्थापन समिति गठन गरेको विद्यालयका प्रधानाध्यापक वाङजी तामाङले जानकारी दिनुभयो । नगरपालिकाले मनोनित गरी पठाएका दुई सदस्य शुक्रबहादुर शेर्पा र लाछिटी शेर्पाले समितिमा बस्न आनाकानी गरेपछि उनीहरुको ठाउँमा नयाँ सदस्य चुनिएको बताइएको छ ।
‘नगरपालिकाले जबरजस्ती हाम्रो नाम लेखेर पठाएछ, तर हामीलाई समितिमा बस्न मन छैन’, उहाँहरुले भन्नुभयो,‘हाम्रो ठाउँमा काम गर्ने अरु नै मान्छेलाई राख्दा हुन्छ ।’ नगरपालिकाले विद्यालय व्यवस्थापन समिति सदस्यका लागि चारजनाको नाम मनोनित गरेको थियो । बाह्रविसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पाले नगरपालिकाले मनलाग्दी ढंगमा विद्यालयमा हस्तक्षेप गर्नु गलत भएको बताउनुभयो ।
‘नगरपालिकाको शिक्षा नीति नै खराब देखियो’, उहाँले भन्नुभयो, ‘नीति मात्रै होइन, उहाँहरुको नियत पनि खराब देखियो ।’ अभिभावकसँग समेत छलफलै नगरी एकलौटी ढंगमा नाम किटेर पठाउनु गलत भएको उहाँको भनाइ छ । ‘नाम तोकेर पठाएकाहरुले समेत अस्वीकार गर्ने स्थिति बन्नु दुर्भाग्यपूर्ण कुरा हो’, उहाँले भन्नुभयो, ‘नगरपालिकाको यस्तै पारा हो भने यहाँको शैक्षिक स्थिति सुर्धान थप एक्सन लिनुपर्ने देखिन्छ ।’
नगरपालिकाले विव्यस गठनमा अभिभावकको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै यसको विरोध गरेका हुन् । ‘नगरपालिकाले प्रदेश र संघ कतै पनि मेल नखाने नियम ल्याएर अफ्ठ्यारो बनाएको छझ, एक अभिभावकले भन्नुभयो,‘अभिभावकको अधिकार कुण्ठित गर्न खोजे हामी सशक्त आन्दोलन गर्न बाध्य हुनेछौ ।’













प्रतिक्रिया दिनुहोस्