अहिले भएको यो नै हो, जुन सर्वथा ठीक छ । यसबाट थप समुन्नतिका आधारहरू खोज्नुपर्छ । एमालेलाई राष्ट्रिय राजनीतिको मियो भागमा उभ्याउन सफल रणकौशल हाम्रो पार्टी अध्यक्ष श्रद्धेय कमरेड केपी शर्मा ओली यसपटक फेरि ‘च्याम्पियन अफ द पोलिटिक्स’ हुनुभएको छ । यसनिम्ति उहाँको सर्वश्रेयस्कर भूमिका नेपाली कम्युनिष्ट आन्दोलनका लागि सदासर्वदा निर्णायक, प्रभावकारी र कालजयी हुनेछ
युवराज बास्कोटा ‘यज्ञ’
प्रधानमन्त्रीको रूपमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई अघि सारेसँगै नेपाली राजनीतिमा एउटा नयाँ कोर्स विकास भएको छ । निर्वाचनपछि प्राप्त जनमतका आधारमा नयाँ सरकार गठन अनिवार्य थियो । सरकार गठनका सन्दर्भमा राष्ट्रपति कार्यालयले गरेको पछिल्लो पत्राचारअनुरुप प्रधानमन्त्रीको रूपमा माओवादी अध्यक्ष प्रचण्डलाई एमालेको समर्थनमा अघि सारेसँगै विकसित घटनाक्रमलाई कतिपयले ‘बार्दली’ को प्रभावको रूपमा अथ्र्र्याएका छन भने कतिपयले महाभारतको एउटा कथा प्रसङ्गसँग जोडेका छन् ।
‘बार्दली’ को प्रभाव भने पनि अथवा महाभारतको त्यो प्रागैतिहासिक कथा प्रसङ्गसँग एमाले अध्यक्ष राजनेता केपी शर्मा ओलीको भूमिकालाई जोडे पनि भर्खरै सम्पन्न निर्वाचनमा जनमतको अंकगणितका हिसावले दोस्रो भएको एमाले अहिले भूमिकाले राष्ट्रिय राजनीतिमा पहिलो भएको चाहिँ साँचो हो र सबैले स्वीकार गरेका छन ।
काँग्रेस नेतृत्वको राजनीतिक शक्तिले सर्वोच्च अदालतसमक्ष गरेको हारगुहारको प्रतिफलस्वरुप जनताको अभिमतबाट बनेको सरकारलाई ढालिएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको त्यो सरकारलाई परमादेशमार्फत गलहत्याएर अपदस्थ गरेसँगै काँग्रेस सभापति देउवा नेतृत्वको गठबन्धन सरकार बनेको थियो । अदालतको परमादेशबाट गठित सरकार आन्तरिक राजनीतिक जीवनको आवश्यकताभन्दा पनि बाह्य रुचि र अभिरुचिअनुरुप बनेको थियो ।
बाह्य रुचि र अभिरुचि निर्देशित गठबन्धनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो बार्दलीबाट आफ्ना अभिमत राख्ने अवस्था बनाएको थियो । आज त्यहिँ बार्दली नयाँ सरकार निर्माणका निमित्त निर्णायक बन्यो, गठबन्धनको सहयोगी शक्ति नेकपा (माओवादी केन्द्र) बार्दलीको आश्रयमा आइपुग्यो र एमाले सक्ने दाउँमा बनेको गठबन्धन चकनाचुर भयो भन्ने अर्थमा बार्दलीको चर्चा चुलिएको हो ।
महाभारतको प्रागैतिहासिक कथाका अनुसार– युद्धमा पराजित हुन थालेपछि दुर्योधनले अचानक एउटा नयाँ अस्त्रको प्रयोग गर्नुभयो । उहाँले पाण्डवहरूलाई भन्नुभयो– हेर्नुस् ! हामी एउटै कुलबंशका सन्तान, एउटै रगतले चलेका, एउटै जात र कर्मका र एउटै धर्मका उत्तराधिकारी दाजुभाइ हौँ । हामीले परस्पर एकाअर्कामा लडेर आफ्नो अस्तित्व नामेट पार्नुहुँदैन, विरासत मेट्नु हुँदैन, बरु यसो गरौँ– हस्तिनापुर राज्यमा शासन गर्नुपर्ने छ । समयअवधिका हिसावले यसलाई परस्पर बाँडौँ । आधा कार्यकाल मैले र आधा कार्यकाल तपाईहरूले राज्याभिषेक गर्ने र राजकाज चलाउने काम गरौँ । दुर्योधनको यो प्रस्तावबाट भावुक एवम् नाजावफ पाण्डवहरू योबाहेक बिना कुनै शर्त र सम्झौता सहमत भए । सहमतिपत्र बन्यो । परस्पर सबैले सहमति जनाए, हस्ताक्षर गरेर हस्तिनापुरमा दुर्योधनले राज्याभिषेक गरे, राजकाज चलाए ।
यो दुइटा चर्चाबाहेक हिजोपछिको राजनीतिक घटनाक्रमले नेपाली राजनीतिमा निकै ठूलो अर्थ राख्छ र प्रभाव छाड्छ । घटनाक्रमलाई जसजसले जसरी बुझे पनि वा अध्र्याए पनि साँचो कुरा के हो भने लोकप्रिय जनमतमा पहिलो रहेको हाम्रो पार्टी संसदीय अंकगणितमा दोस्रो शक्ति थियो । राष्ट्रिय राजनीतिका असजिला क्षणमा आफूलाई पद–आशक्तिपात्रको रूपमा होइन, वैकल्पिक शक्तिलाई अघि सारेर नेकपा (एमाले) ले आफूलाई दोस्रो ठाउँमा दोस्रो भूमिकाअनुरुप उभ्याएको छ । पार्टी अध्यक्ष राजनेता कमरेड केपी शर्मा ओलीविरुद्धको निशानकेन्द्रीत चौतर्फी प्रहार र घेराबन्दीलाई जनमतले जसरी तोड्न आफ्नो अभिमत प्रयोग गरेका थिए, त्यहिअनुरुप अध्यक्ष कमरेडले उच्च राजनीतिक सुझबुझ र दूरदर्शिता राख्नुभएको छ ।
परिस्थिति आजको अवस्थामा यो निर्णायक रहेको छ । संघीय अंकगणितमा पहिलो शक्ति बनेर अस्भाविक दम्भ घमण्डमा चुलिएको सहयात्री शक्ति नेपाली काँग्रेस नराम्ररी पछारिएको छ । उसको नेतृत्वमा बनेको गठबन्धन, एमाले सक्ने यसका कैयौं प्रयास र कसरतहरू र गत निर्वाचनमा यसले प्राप्त गरेको जनविश्वास बचाउन नसक्ने गरी चुकेको छ, थला परेको छ । केपी ओली नेतृत्वको एमाले ‘बेहाल’ भन्दै चिच्याउने माधवकुमार नेपाल काँग्रेसको सोत्तर बनेका छन् । थ्रेसहोल्ड कटाएर न राष्ट्रिय पार्टी बनाउन सके, न एमाले सक्ने दाउमा बनाएको गठबन्धन कायम राख्न ! घर न घाटका भएका छन् ।
सत्ता चाहने तर तदनुसार नेतृत्वदायी भूमिका निर्वाह गर्न नसक्ने बरु प्रभुको छाँयाकपि बनेर उभिने नेपाली काँग्रेस राजनीतिक ढडिया थाप्नेबाहेक उल्लेख्य भूमिकामा रहन सक्दैन भन्ने पुष्टि भएको छ, सामाजिक सञ्जालमा काँग्रेसजनबाट पोखिएका विरक्तिबाट उसको योग्यता–क्षमता जगजाहेर भएको छ । राजनीतिक योग्यताको आँकलन र पुस्तान्तरणको विषयमा युवा नेता गगन थापालाई स्वीकार्न नसक्ने र राष्ट्रपतिको मोहमा अल्झिएर दलको नेतृत्व गर्न सक्षम देउवाको विकल्प अरु पनि कोही हुन सक्छ भन्ने यथार्थ नबुझ्ने शीर्षस्थ नेता रामचन्द्र पौडल सहितका काँग्रेसजनका लागि पनि यसबाट गम्भीर शिक्षा प्राप्त भएको छ ।
भत्कियो गठबन्धन
नेपाली मोडलको समाजवादको प्रारम्भिक अवधारणाअनुरुप समृद्ध नेपाल ः सुखी नेपाली निर्माणको राष्ट्रिय आकांक्षा सहित अघि बढेको नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारका देशभक्तिपूर्ण जनमुखी कामकाजबाट अत्तालिएका राजनीतिक शक्तिहरू र तिलमिलाएको छिमेकको संगठित योजनास्वरुप गठबन्धन बनेको थियो । नेकपा (एमाले) लाई सक्न, धुलाम्य पार्न र नामेट पार्न हरतरहले प्रयासरत गठबन्धनलाई कमजोर पार्नु, भत्काउनु र नेपाली राजनीतिमा नेपाली जनमतलाई निर्वाध निर्णायक तुल्याउनु अनिवार्य थियो ।
माओवादी अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्रीको रूपमा अघि सारेसँगै गठबन्धन गर्लम्बै भत्किएको छ, गठबन्धनमार्फत प्रवेश पाइरहेका बाह्य रुचि अभिरुचिहरू अहिलेलाई चकनाचुर भएका छन्, आन्तरिक शक्ति विघठन गर्न क्रियाशील भाइरसहरू थन्किएका छन्, एमालेलाई सक्न प्रयोग गरिएको औजार अहिले एमालेबाट प्रयोग भइरहँदा एमालेविरुद्धको संगठित प्रहार छताछुल्ल भएको छ । राजनीतिमा चाहिने आवश्यक इमान, जुवान, निष्ठा आदिको पक्ष उजेलिएको छ । एमालेको राजनीतिक–बैचारिक बिम्बात्मक अडान राष्ट्रिय राजनीतिको मियो भागमा उभिएको छ । जनताको रोजाइको पहिलो पार्टी राष्ट्रिय राजनीतिमा पहिलो शक्तिको रूपमा उभिएको छ, स्थापित भएको छ ।
बाह्य रुचि अभिरुचि मत्थर
गठबन्धन निर्माणसँगै नेपाली राजनीतिमा के हुँदैछ ? कहिले हुँदैछ ? कहाँबाट हुँदैछ ? केही थाहा नहुने अवस्था विकास भएको थियो । स्वयं गठबन्धन नेपाली राजनीतिको आवश्यकताले बनेको थिएन, अन्यत्रबाट प्रकट रुचि अभिरुचिको प्रतिफलस्वरुप बनेको कतिपय बेलामा गठबन्धनमा सामेल दलका नेताहरूको अभिव्यक्ति आइरहन्थ्यो, आइरहन्छ । राजनीतिक जीवनका सस्याना घटनाक्रममा यो प्रभाव दिउँसोको घाम झैँ छर्लङ भएर कहिलेकाहिँ उदाउने गरेकै थियो । प्रधानमन्त्री को बन्ने दौडमा सरोकारवालाको चासो र सरोकारको गम्भीरताभित्र नेताहरूको कित्ताबन्दी र तदानुकूल मिडियाको सक्रियताबाट प्रस्टै छ ।
कुनै बेला हाम्रो मन्त्रीपरिषद् बैठकमा महामहिम राजदुत बस्ने गर्दथे रे ! स्थिति त्यो मात्र बाँकी थियो । अर्थात् यसको पुनरावृत्ति मात्र बाँकी थियो, अरु सबै कुरा हाकाहाकी शर्त, लेनदेन, मोलतोल आदि हुने गरेको थियो । राष्ट्रिय स्वाधीनताको रक्षाभन्दा वैयक्तिक विषयको प्रभावले महामहिम राजदुत र राजदूताबासको सक्रियता अस्वभाविक थियो, यसको पराकम्पन घरआँगनमा बिहानको उज्यालो सँगसँगै आउने गरेको थियो, अब क्रमशः थन्किन सक्ने अवस्था बन्न सक्छ । योजनाबद्ध र बुद्धिमतापूर्वक हुने त्यो खालको अस्वभाविक चलखेलका भाइरसको सल्बलाहट मत्थर हुने अवस्था विकास भएको छ ।
स्थायित्वको आधार
राजनीतिक व्यवस्थामा फेरबदल र संविधानमार्फत यसको व्यवस्थापन गरेको भए पनि कार्यान्वयनको अभावमा मानिसको अवस्थामा फेरबदल आउन सकेको थिएन, छैन । यसको मूल कारण भनेको देशमा राजनीतिक अस्थिरता र अस्थायित्व नै हो । नेकपा (एमाले) ले राजनीतिक स्थिरता र स्थायित्वका पक्षमा गरेको कार्यहरू प्रभावकारी बन्न सकेनन्, यसका लागि गरिएको बृहत्तर कम्युनिष्ट तथा बामपन्थी शक्तिबीचको एकता पनि आशातीत केही समयसम्म नै टिक्न सकेन । बाह्य चलखेलको प्रभाव नेतृत्वमा देखियो । स्वयं प्रचण्ड नेतृत्वविरुद्ध राग ओकल्दै सार्वजनिक हुनुभयो ।

राजनीतिक जीवन र मर्यादाबाहिरका विषयवस्तुहरूमा मुछ्ने काम भयो । स्थानीय थानाचौकीमा उजुरीबाजुरी गर्नुपर्ने प्रकृतिका कतिपय अराजनीतिक र मर्यादाहिन विषयवस्तुमा नेतृत्व ओर्लियो । अन्ततः कम्युनिष्ट आन्दोलनलाई संगठित गर्ने परस्पर विश्वासअभावमा तुहियो । कम्युनिष्ट तथा बामपन्थी शक्तिहरू काँग्रेसको बुइँ चढेर एमाले सक्ने खेलमा लागे । कम्युनिष्ट तथा बामपन्थी शक्तिबाट आजीत जनमत विकल्प खोज्न थाल्यो । चुनाव अघिमात्र होइन, चुनावपछि पनि दर्जनजति पार्टीहरू देखिए, भेटिए ।राजनीतिक अभ्यास र आचरणका त कुरा परै राखौँ– कतिपय दलबलमा त संविधान निर्माणको राजनीतिक अन्तरवस्तु, निर्मित संविधानको परिकल्पना, संघीय र समावेशी सैद्धान्तिक विषयको मर्म र यसले तय गरेको स्प्रीटले कहिं कतै छोएको पनि देखिँदैन । अन्ततः यसको असरमा राष्ट्रिय राजनीतिमा देखियो ।
यो घटनाक्रमपछि कम्युनिष्ट तथा बामपन्थी शक्तिले आफूलाई सुक्ष्म ढंगले अध्ययन गर्न, घटनाक्रमको विश्लेषण र संश्लेषण गर्न र आजको आवश्यकताअनुरुप निर्दिष्ट भएर चल्न सके भने यो सहकार्यले राजनीतिक स्थिरता र स्थायित्व कामय गर्ने आधार समेत तयार भएको छ । यो परिघटनाले देशमा राजनीतिक स्थायित्व र स्थिरताका लागि कम्युनिष्ट तथा बामपन्थी शक्तिहरूलाई नजिकनजिकै ल्याएको छ ।
सहकार्यका लागि
राजनीतिक हिसावले प्रचण्ड कस्ता हुन् ? कहाँ छन् ? कति टिक्लान् ?प्रचण्ड नेतृत्वको सरकार भ्यागुताको धार्नी वजन पार्न गाह्रो भने जस्तो होला कि राजनीतिक एजेण्डामा आधारित हुन्छ र सहज गन्तव्यउन्मुख रहन सक्छ ?त्यो एउटा पाटो हो । समयक्रममा समिक्षा गर्न सकिन्छ । आवश्यक सरसहयोग आदानप्रदान गर्दै अघि बढ्नुपर्छ । मानिस हुन्– उनले पनि आफूलाई सच्च्याएका होलान् । तर यो वाध्यकारी अवस्थामा एमालेले गरेको कामको सराहना गर्नुपर्छ । एमालेको निर्णायक उपस्थिति र भूमिका मुक्तकण्ठले प्रशंसायोग्य छ । यत्तिमै चित्तबुझाउनुपर्छ, यो नै गन्तव्य थियो भन्ने किमार्थ होइन, सुधारात्मक अभ्यास, आचरण र परस्पर विश्वास आर्जन सहित हिजो थाति रहेका मुद्दाहरूको सम्बोधन र व्यवस्थापनका लागि पारस्पारिक गृहकार्य गर्दै प्राप्तिको दिशामा अग्रसरता लिनुपर्छ ।
मूलतः राष्ट्रिय स्वाधीनताको रक्षा, राष्ट्रिय अर्थतन्त्रको विकास र पूंजी निर्माण, पारस्पारिक समानता र सम्मानमा आधारित सन्तुलित बिदेश सम्बन्ध, समाजको विपन्न र पछाडि पारिएको जन र समुदायको बृहत्तर हितोन्मुख कार्यक्रम, व्यप्त भ्रष्टाचार नियन्त्रण, संघीय व्यवस्थाको संवैधानिक व्यवस्थापन र परिकल्पनाअनुरुप सुशासनको पूर्णतः प्रत्याभूति, उपलब्ध पूंजी र प्रविधिको प्रयोगमार्फत रोजगारीका औसरहरूको सिर्जना गर्न सक्नु यो सरकार गठन, निर्माण र परिचालनका मुख्य आधारहरू हुन सक्नुपर्छ र हुनुपर्छ । यसमा नै हामी सबैले हाम्रो हित सर्वोपरिता देख्न, खोज्न र भेट्न सक्नुपर्छ । नत्र, नेतृत्वप्रति विश्वास क्षय हुनेछ र दलीय परिकल्पनाबाहिर मुलुक जान्छ । हेक्का रहोस्– दलीय उपस्थिति र नेतृत्वको अतिरिक्त क्षमतालाई व्यवहारमा उतार्न सकिएन भने मुलुक झनझन दलदल अर्थात् भासमा फस्ने स्थिति नजिकै छ । कतिपयले चाहेका यहिँ छन् भन्ने कुरालाई हामीले स्मरण गर्नुपर्दछ ।

उपसंहार
राजनीति हो । त्यो पनि प्रतिस्पर्धाको मनोविज्ञानमा आधातिर संसदीय राजनीति ! यो सामान्य र सोझो अवस्थाबाहेक बक्ररेखामा पनि चल्दो रहेछ । यसपटक भयो यस्तै । हिजो तिनले माग गरेको परमादेश थियो, अहिले यो गर्लम्मै भत्कियो । भारतमा जवाहारलाल नेहरूलाई चाचा नेहरू भने झैँ नेपालमा नेपाली जनमनको सर्वाधिक प्रिय व्यक्तित्वको रूपमा राजनेता केपी शर्मा ओलीलाई आत्मसात गरे । केपी ‘बा’ भनेर पुकारा भइरहेको बेला उहाँ एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीलाई प्रतिगामी भनियो, अब त्यो प्रतिगमनसच्चियो । ‘बार्दली’ भनेर उछितो काड्ने काम गरियो, अहिले ‘बार्दली’ नेपाली राजनीतिको गोलपोस्ट बन्यो, निर्णायक केन्द्र बन्यो ।
चौतर्फी प्रहारबाट लागेको चोट सहेका हामी कम्युनिष्ट तथा बामपन्थी शक्तिले यस घटनाबाट उत्तेजित भएर होइन, थप बढी संयमताका साथ अघि बढ्न सक्ने आधार प्राप्त भएकोमा ढुक्क हुन सक्नुपर्छ । भनिन्छ नि यथास्थितिबाट उठ्न सकेको राजनीति विगतमुखी र भूतप्रभावी भएर होइन, यसको गहिरो समिक्षा सहित भविष्य निर्माणका लागि गतिशील हुनुपर्छ ।
अहिले भएको यो नै हो, जुन सर्वथा ठीक छ । यसबाट थप समुन्नतिका आधारहरू खोज्नुपर्छ । एमालेलाई राष्ट्रिय राजनीतिको मियो भागमा उभ्याउन सफल रणकौशल हाम्रो पार्टी अध्यक्ष श्रद्धेय कमरेड केपी शर्मा ओली यसपटक फेरि ‘च्याम्पियन अफ द पोलिटिक्स’ हुनुभएको छ । यसनिम्ति उहाँको सर्वश्रेयस्कर भूमिका नेपाली कम्युनिष्ट आन्दोलनका लागि सदासर्वदा निर्णायक, प्रभावकारी र कालजयी हुनेछ । सगर्व…!













प्रतिक्रिया दिनुहोस्